Fri May 27 2022
मुख्य खबर

हाब्रे संरक्षण गर्न कुकुरलाई खोप

विश्वमै दुर्लभ मानिएको वन्यजन्तु हाब्रे (रेडपान्डा)  संरक्षण गर्न घरपालुवा जनावर कुकुरलाई रेबिजविरुद्धको खोप दिन थालिएको छ ।

खर्कमा गोठालासँगै बस्ने सिकारी कुकुरले हाब्रेलाई आक्रमण गर्न थालेपछि हाब्रेमा रेबिज रोग सर्न सक्ने डरले ती कुकुरलाई रेबिजविरुद्धको खोप दिन थालिएको हो ।

हाब्रे संरक्षणमा काम गरिरहेको रेडपान्डा नेटवर्कले हाब्रे पाइने ताप्लेजुङ, पाँचथर, इलाम, डोल्पा, जाजरकोट, रोल्पा, पश्चिम रुकुम, पूर्वी रुकुमलगायतका जिल्लाका कुकुरलाई खोप लगाउन सुुरु गरेको हो ।

नेटवर्कका अनुमगन अधिकृत पेमा शेर्पाका अनुसार गोठालासँग गोठमा बस्ने सिकारी कुकुरबाट हाब्रे पीडित हुन थालेपछि कुकुुरलाई सुरक्षित राख्न खोप लगाउने अभियान शुरू गरिएको हो ।

यस वर्ष जाजरकोटमा रेबिजविरुद्धको खोप लगाउने कार्य सञ्चालन भइरहेको शेर्पाले बताए । यस अभियानलाई हाब्रे पाइने सबै जिल्लामा चरणबद्ध ढङ्गले सञ्चालन गरिनेछ ।

उच्च हिमाली क्षेत्रका बस्तीमा पनि हाब्रे आउने भएकाले गत वर्ष गाउँघरमा पालिएका कुकुरमा पनि रेबिजविरुद्धको खोप दिइएको थियो । गत वर्ष दुुई हजार ४९ कुकुरलाई खोप लगाइएको उनले बताए ।

नेटवर्कले इलाम जिल्लाको हाब्रेको बासस्थान सुधार गर्न ७७८ रोपनी निजी जग्गा किनेर वृक्षरोपण गर्न थालेको छ ।

वन्यजन्तु हिँड्ने, चर्ने क्षेत्रमा भएको निजी जग्गा खरिद गरेर मालिङ्गो, निगालोलगायतका डाले घाँसका बिरुवा रोप्ने काम भइरहेको नेटवर्कका कार्यक्रम संयोजक सोनाम टासी लामाले जानकारी दिए ।

लामाले हालै बेलायतबाट प्राप्त गरेको ह्विट्ली कन्जरभेसन अवार्डको ४० हजार पाउन्डलाई पनि हाब्रेको बासस्थान सुधारमा लगाइने भएको छ ।

पुरस्कृत लामाले भने, “मैले पाएको पुरस्कारको रकम इलाममा रेडपान्डा बासस्थान सुधारका लागि बाँकी रहेको काममा लगाउने योजना बनेको छ । त्यो रकमले पनि पुग्दैन होला । त्यहाँ काम गर्नुपर्ने अझै धेरै छ ।”

गोरखापत्र दैनिकमा खबर छ।