Wed May 18 2022
मुख्य खबर

स्थानीय निर्वाचनमा प्रहरीको सुरक्षा व्यवस्था कडा

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

निर्वाचनको सुरक्षाका लागि निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि नै सीमानाका बन्द गरिएको छ भने सम्भावित जोखिम हुन नदिन सुरक्षा व्यवस्थालाई कडा पारिएको हो ।

विशेष गरेर नेपालको मधेस प्रदेशमा सुरक्षा थ्रेट रहेको प्रहरीले जनाएको छ । मधेस प्रदेशमा भयरहीत मतदान गराउन सीमानाका बन्द गरिएको छ ।

देशभरिका मतदान केन्द्रहरु मध्य मधेस प्रदेशमा रहेका १ हजार ६३ वटा मतदान स्थल र २ हजार ९९ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सबैभन्दा बढी धुनषाका १ सय ८३ वटा मतदान स्थल र ३ सय ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको छ ।

सप्तरीमा २ सय ८ मतदानस्थल र ३ सय ८० मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको छ भने सिरहामा १ सय ७० वटा मतदानस्थल र ३ सय ८२ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरेर सुरक्षा रणनीतिअनुसार प्रहरी परिचालन गरिएको छ ।

त्यस्तै महोत्तरीका १ सय १० मतदानस्थल, २ सय १४ मतदान केन्द्र, सर्लाहीका १ सय ३ मतदानस्थल र २ सय ५ मतदान केन्द्र, रौतहटमा ८३ वटा मतदान स्थल र १ सय ६१ मतदान केन्द्र, बारामा १ सय ४४ वटा मतदान स्थल र २ सय ५६ वटा मतदान केन्द्र र पर्सामा ६२ वटा मतदानस्थल तथा १ सय ६७ मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको छ । त्यहाँ पनि सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।

प्रवक्ता केसीले आसन्न निर्वाचनलाई भयरहीत, स्वतन्त्र र निष्पक्ष गराउन विभिन्न प्रविधिको प्रयोग गरेका र निर्वाचन आयोगसँग सहकार्य गरेर सिसिक्यामेरा समेतको माध्यमबाट निगरानी गर्ने काम गरिरहेको बताउनु भयो ।

उहाँले ४ वटै सुरक्षा निकायहरुले जुनकुनै किसिमको चुनौतिलाई पनि सामना गर्नसक्ने गरी तयारी अवस्थामा रहेकोले मतदाताले भयरहीत वातावरणमा आफ्नो संवैधानिक हक प्रयोग गर्नसक्ने बताउनु भयो ।