Mon May 16 2022
मुख्य खबर

जेठदेखि १५ दिनमै लाइसेन्स पाइने, वर्षौसम्म पालो कुर्नुपर्ने बाध्यात्मक अवस्था अन्त्य

सवारी चालक अनुमतिपत्र लाइसेन्स हरेक नागरिकका लागि अत्यावश्यक वस्तु जस्तै भइसकेको छ । यस्ता प्रमाणपत्र हरेक व्यक्तिसँग नहुँदा कतिपय महत्वपूर्ण अवसरहरु गुमाउनु पर्ने अवस्था छ । तर यस्तो अत्यावश्यक प्रमाणपत्र समयमा उपलब्ध नहुँदा आम नागरिक सास्ती भोग्न बाध्य छन् ।

लाइसेन्सका लागि अनलाइन आवेदनको व्यवस्था त गरिएको छ । आवेदन दिएको वर्षौसम्म पनि ट्रायल परीक्षाका लागि पालो कुर्नुपर्ने अवस्था छ । तर अब भने यातायात व्यवस्था विभागले आगामी जेठ ४ गतेदेखि लागू हुने गरी लाइसेन्स वितरण प्रणालीमा नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको छ ।

नयाँ व्यवस्था अनुसार अनलाइन आवेदन दिएको १५ दिनभित्रमा लाइसेन्सको ट्रायल परीक्षाको पालो आउने विभागले जनाएको छ । लाइसेन्सका लागि ल्याउन लागेको नयाँ व्यवस्थाले आफूहरुलाई छिटो, छरितो सेवा लिन सहज हुने सेवाग्राहीको भनाइ छ ।

नयाँ व्यवस्था लागू भएपछि सेवाग्राहीलाई लाइसेन्सका लागि पहिलेजस्तो सास्ती नहुने विभागको दाबी छ । यसअघि अनलाइन प्रणालीमा आवेदन दिएका सेवाग्राहीलाई पनि नयाँ व्यवस्थाले समेट्ने विभागले जनाएको छ ।

अनलाइन प्रणालीमा समेत अत्याधिक रुपमा आवेदन आउन थालेपछि विभागले सो प्रणाली नै बन्द गरेको थियो । उक्त प्रणाली बन्द गर्दासम्म आवेदकको संख्या ५ लाख ७२ हजार पुगेको थियो । यीमध्ये हालसम्म कतिपयको ट्रायल परीक्षा सकिएको र बाँकी रहेकाहरुको पनि परीक्षा चलिरहेको विभागको भनाइ छ ।

यसअघि ट्रायल परीक्षाको पालो आएपछि मात्र राजस्व तिर्नुपर्ने व्यवस्था थियो । तर अब भने अनलाइन आवेदन दिँदा नै राजस्व तिर्नुपर्ने व्यवस्था लागू हुने पनि विभागले जनाएको छ ।

यसका साथै लाइसेन्स लिनका लागि यातायात कार्यालयमा दर्ता भएका चिकित्सकबाट आवेदन पूर्व मेडिकल रिपोर्ट लिनुपर्ने भएको छ । विभागले लाइसेन्सलाई नागरिकता र राष्ट्रिय परिचयपत्रसँग पनि जोड्ने तयारी गरेको छ । यसले एउटै नागरिकताबाट धेरै व्यक्तिले लाइसेन्स लिने प्रवृत्तिको समाधान गर्ने विभागको दाबी छ ।

लाइसेन्स वितरण प्रणालीमा सरकारले पुरानै प्रणाली अबलम्बन गर्दा सेवाग्राहीहरुले सास्ती भोग्दै आएका थिए ।

लाइसेन्सका लागि एक त वर्षौसम्म पालो कुर्नुपर्ने अवस्था थियो भने विचौलियाको बिगबिगी अर्को समस्या थियो । तर विभागले नयाँ नियम लागू गर्ने भएपछि सेवाग्राही ती समस्याहरुबाट मुक्त हुने आशा गरिएको छ ।