Mon May 16 2022
मुख्य खबर

मतदाता शिक्षा लिन नयाँ मतदाताको भीड

निर्वाचन आयोगले मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न शुरु गरेको छ ।
नेपालभर आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन दिएकाहरुलाई मतदाता परिचयपत्र वितरण शुरु गरेको हो ।

बुधवार र बिहीवार आयोगले देशभरका विभिन्न मतदान स्थल र निर्वाचन केन्द्रहरुबाट मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गरिरहेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाताहरुले हालेको मतदान बदर नहोस् भनेर मतदाता शिक्षा दिन लागेको आयोगले बताएको छ ।

मतदाता शिक्षा लिनका लागि नयाँ पुस्ताहरु अधिकांश मतदान स्थलमा आएको नयाँ बनेश्वर मतदान केन्द्र ‘ग’का मतदान अधिकृत भगवान उप्रेतीले बताए ।

उनले बिहान १० बजेबाट मतदाता परिचयपत्र वितरण गरेको र वैशाख ३० गतेका लागि आवश्यक तयारी गरिरहेको बताए । मतदान अधिकृत उप्रेतीले मतदाताहरुलाई नमूना मतपत्रमा मत हाल्न सिकएको समेत बताए ।

त्यस्तै काठमाडौं जिल्ला अदालतकी कर्मचारी अनुपमा भट्टराईले मतदाता शिक्षासँगै मतदाता परिचयपत्र पनि वितरण गरिरहेको बताइन । उनले नयाँ मतदाता परिचयपत्र बनाएका र स्थानीय तहको निर्वाचनमा यसअघि मत नहालेका मतदाताहरु मत हाल्ने तरिका सिक्न आएको उल्लेख गरिन ।

यता मत हाल्ने तरिका सिक्न र मतादाता परिचयपत्र लिन आएका मतदाताहरु भोट हाल्नका लागि उत्साहीत देखिएका छन् । यसवर्ष नयाँ मतपत्रहरु छापिएको र हाल्न नजानेकाहरुको मतपत्र बदर हुनसक्ने भन्दै एकपटक मत हाल्ने तरिका सिक्न आवश्यक रहेको समेत अधिवक्ता भूमिनन्द चुँडालले बताए ।

यसवर्ष मतदाता शिक्षा भनेजस्तो दिन नसकेका कारण धेरै मतपत्र बदर हुन सक्ने सम्भावना रहेको उनले बताए । अधिबक्ता चुँडालले जस्तै मतपत्र लिन पुगेका अन्य मतदाताहरुले पनि नयाँ मतदाताहरुलाई मत हाल्न सिकाउनु पर्नेमा जोड दिएका छन ।

नयाँ मतदाताहरु भने आफ्नो मताधिकार प्रयोग गरेर योग्य नेतृत्व चयन गर्न उत्साहीत देखिएका छन् । उनीहरुले सम्बन्धित ठाउँमा आएर भोट हाल्ने तरिका सोधेर आफ्नो मताधिकारको उचित सदुपयोग गर्न समेत सुझाव दिएका छन् ।

अहिले सही र योग्य उम्मेदवार छान्न सके मात्रै भविष्यमा राम्रो कामको प्रतिफल आउने भएकाले सोचेर मतदान गर्न पनि उनीहरुले अपिल गरेका छन् ।