Mon May 16 2022
Breaking News

आज स्थानीय तह निर्वाचन, जनप्रतिनिधि चयन हुँदै

काठमाडौँ– देशभरका स्थानीय तहमा आज (शुक्रबार) एकसाथ निर्वाचन हुँदैछ । मुलुक संघीयतामा गइसकेपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन हुन लागेको हो ।

देशभरका ७५३ स्थानीय तहका लागि ३५ हजार २ सय २१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनौट गर्न एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाताले मताधिकार प्रयोग गर्न लागेका हुन्।

निर्वाचन आयोगले बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने जनाएको छ । आयोगले बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी पूरा भइसकेको बताएको छ ।

स्थानीय निर्वाचनको निम्ति ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरेर जम्मा ७५३ स्थानमा चुनाव हुन लागेको हो ।

आयोगले स्थानीय तह निर्वाचनका लागि १० हजार ७५६ मतदान स्थल निर्धारण गरेका छ। आयोगका अनुसार देशभर २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन्।

स्थानीय तह निर्वाचनबाट ७५३ पालिकामध्ये २९३ मा नगर प्रमुख ९मेयर० र ४६० मा गाउँपालिका अध्यक्ष निर्वाचित हुने छन्। सोही संख्यामा नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष चयन हुने छन्।

स्थानीय तहमा ६ हजार ७ सय ४३ वडा अध्यक्ष निर्वाचित हुनेछन् । खुला सदस्यको संख्या १३ हजार ४ सय ८६ रहनेछ। महिला सदस्य र दलित महिला सदस्य ६ हजार ७ सय ४३ गरेर १३ हजार ४८६ जना रहनेछन् । यसमा जम्मा निर्वाचित हुने ३५ हजार २ सय २१ पदको निर्णय हुनेछ ।

स्थानीय निकायका सबै उम्मेदवार १ लाख ४५ हजार ११ जना उम्मेदवार रहेका छन् । जसमा पुरुष उम्मेदवार ८९ हजार ३ सय १३ छन् भने महिला उम्मेदवार ५५ हजार ६ सय ९८ रहेका छन् । ३९० जना निर्विरोध निर्वाचित भइसकेका छन् ।

यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने ६ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यसमेत निर्विरोध निर्वाचित भएका छन्।