जोडिनुहोस
  • होमपेज
  • म्याग्दीमा दुई आधारभूत अस्पताल निर्माण अलपत्र

म्याग्दीमा दुई आधारभूत अस्पताल निर्माण अलपत्र

बेनी – म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन्। ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण शुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेका हुन्।

धौलागिरि –७ ताकममा पाँच र मङ्गला–५ हाँडेभिरमा १० शय्या क्षमताको आधारभूत अस्पताल २०७७ सालमा शिलान्यास गरिएको थियो। निर्माण व्यवसायीले भवन निर्माणको काम रोकेपछि यहाँका दुवै अस्पताल योजना अपुरो बनेको हो।

ताकममा निर्माणाधीन अस्पतालको जिम्मा लिएको आईएस एसी जेभी बुर्तिबाङ बागलुङले भुईं ढलान गरेर पिल्लर मात्रै उठाएर अलपत्र बनाएको धौलागिरि –७ का वडाध्यक्ष अशोक खत्रीले बताए। ‘ताकममा अस्पताल भवन बनाउन रु चार करोड ८८ लाख ७२ हजार १३२ मा ठेक्का सम्झौता भएको थियो। निर्धारित मिति २०७९ जेठ २५ भित्र भवन निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म २० प्रतिशत भौतिक प्रगति भएको छ’, उनले भने।

निर्माण कम्पनीका प्रतिनिधि दीपक अढाईले बजेटको सुनिश्चितालगायतका विविध कारणले आफूले समयमै काम सम्पन्न गर्न नसकेको बताउँदै पालिकाको नेतृत्वमा सबै समस्या हल भएकाले अब छिट्टै कार्यक्षेत्रमा फर्किने बताए।

मङ्गला गाउँपालिकामा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन अलपत्र परेपछि निर्माण व्यवसायीलाई ताकेता गरिएको छ। ठेकेदारको ढिलासुस्ती र लापर्वाहीका कारण यहाँको अस्पताल भवन विगत डेढ वर्षदेखि अलपत्र अवस्थामा छ।

भवनको ¥याप फाउन्डेसन तयार पारी पिल्लर उठाएर छाडिएको यस योजनाको जम्मा १० प्रतिशत भौतिक प्रगति भएको छ। पिल्लरको संरचना ठडाएर छाडिएको छ भने रडमा खिया लागेको छ। अस्पताल भवन निर्माणका लागि पालिकाले ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सन काठमाडौंसँग दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी २०७८ असारमा नौ करोड ११ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

मुख्य ठेकेदारले योजनाको काम गर्न अर्को पेटी ठेक्का लगाएको र उनीहरुबीचको आन्तरिक विवादले योजना नै अलपत्र परेको गाउँपालिकाका असिस्टेन्ट सब–इन्जिनियर नगेन्द्र सापकोटाले जानकारी दिए। पालिकाले पटकपटक पत्राचार गरेपछि मुख्य ठेकेदार दिपेश लामा सम्पर्कमा आएर भवन बनाउने प्रतिबद्धता व्यक्त गरेको उनले बताए। यो भवनको आगामी असार मसान्तसम्म ठेक्का सम्झौताको म्याद थप भएको छ।

पालिकाको अस्पताल भवनलाई सम्पन्न गराउन निरन्तर ताकेता गरेको र मुख्य ठेकेदार नै पालिकामा आएर केही दिनमै काम अघि बढाउने प्रतिबद्धता जनाएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए। मङ्गलामा आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्पप्रतिरोधी क्षमताको ३५ कोठा भएको अपाङ्गमैत्री अस्पताल भवन निर्माण हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका