जोडिनुहोस
  • होमपेज
  • यूएईको मध्यस्थतामा रुस र युक्रेनद्वारा ४ सय ७८ युद्धवन्दी रिहा

यूएईको मध्यस्थतामा रुस र युक्रेनद्वारा ४ सय ७८ युद्धवन्दी रिहा

काठमाडौं । रुस युक्रेन युद्ध चलेको झण्डै २ वर्षपछि दुवै देशले ४ सय ७८ युद्धवन्दी रिहा गरेका छन् ।

बुधबार रुसले २३० र युक्रेनले २४८ सैनिक रिहा गरेका हुन् । संयुक्त अरब इमिरेट्स (युएई) को मध्यस्थतामा दुई देशबीच युद्धवन्दी रिहा गर्ने सहमति भएको हो ।

युक्रेनी अधिकारीहरूले २३० युक्रेनी युद्ध कैदीहरूको घर फिर्ता भएको पुष्टि गरेको छ भने रूसी रक्षा मन्त्रालयले युक्रेनी बन्दीबाट २४८ रूसी सैनिकहरू फिर्ता भएको पुष्टि गरेको छ । सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा रुसको आक्रमणपछि युद्ध सुरु भएयता कैदीहरूको यो सबैभन्दा ठूलो रिहाइ हो ।

रुस र युक्रेनबीचको युद्धका क्रममा सुरुमा सेना आदानप्रदानको सम्झौता चलिरहेको थियो । तर गत वर्ष यो प्रक्रिया रोकिएको थियो । करिब पाँच महिनापछि सैनिकको यो आदानप्रदान भएको हो । २०० भन्दा बढी सैनिक र नागरिकहरू रूसी कैदबाट फर्केका छन्, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले टेलिग्राम सन्देश एपमा पोस्टमा लेखेका छन् ।

युक्रेनका मानवअधिकारवादी नेता ओम्बड्सम्यान दिमिट्रो लुबिनेट्सले रुसले रिहा गरेका २३० युक्रेनी बन्दीमध्ये ६ जना सर्वसाधारण रहेको बताए । युक्रेनले सन् २०२२ यता ठूलो सङ्ख्यामा युक्रेनीहरूलाई हिरासतमा राखेको जनाएको छ । तिनीहरूमध्ये केहीले स्नेक आइल्याण्ड र युक्रेनी बन्दरगाह सहर मारिउपोलका लागि ऐतिहासिक लडाइहरूमा भाग लिएका थिए ।

दुई देशबीच युद्धवन्दी आदानप्रदान गर्ने सम्झौता भए पनि आक्रमण भने जारी छ । रुसले बुधबार युक्रेनको सिमानामा रहेको आफ्नो दक्षिणी इलाकामा लक्षित १२ वटा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।

रुसको बेल्गोरोड क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले युक्रेनबाट बारम्बार मिसाइल र ड्रोन हमलाका कारण स्थिति तनावपूर्ण रहेको बताएका छन् । रुस र युक्रेनबीच जारी युद्धमा अहिलेसम्म दुवै पक्षका हजारौं सैनिकको मृत्यु भइसकेको छ । दुवै पक्षले एकअर्कालाई हमलाको आरोप लगाउँदै आएका छन् ।

यो द्वन्द्वका कारण सर्वसाधारणले पनि धेरै समस्या भोग्नु परेको छ । रुस र युक्रेनको सीमावर्ती सहरहरूमा धेरै मानिसहरूले आफ्नो घर छोड्नु परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका