जोडिनुहोस
  • होमपेज
  • मुस्ताङका किसानलाई याक वितरण

मुस्ताङका किसानलाई याक वितरण

म्याग्दी । नश्ल सुधारका लागि मुस्ताङका किसानलाई याक वितरण गरिएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयअन्तर्गतको पशु तथा मत्स्य विकास निर्देशनालयले १० याक वितरण गरेको हो ।

सोलुखुम्बुको स्याङबोचेमा रहेको याक आनुवांशिक स्रोत केन्द्रबाट खरिद गरेर ल्याइएका याक मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले मङ्गलबार पोखरामा भएको कार्यक्रममा मुस्ताङका प्रदेशसभा सदस्य विकल शेरचन र नाम्दु गुरुङलाई हस्तान्तरण गरे ।

कृषि तथा भूमि व्यवस्थामन्त्री जिसीका निजी सचिव डिल्लीराम रेग्मीले सोलुखुम्बुबाट ल्याइएका १९ मध्ये नौ मनाङका किसान समूह र समितिलाई दिइने जानकारी दिए । “एकै ठाउँको याकबाट धेरै वर्ष प्रजनन क्रिया हुँदा हाडनाताको समस्या हुने भएकाले सोलुखुम्बुबाट ल्याएर चौँरीपालक किसान, समूह र सहकारीलाई वितरण गरिएको हो”, उनले भने, “नश्ल सुधार भई चौँरीपालक किसानलाई लाभ पुग्ने अपेक्षा गरेका छौँ ।”

मुख्यमन्त्री पाण्डेले उन्नत जातको याकबाट नश्ल सुधारमा मद्दत पुग्ने र हिमाली क्षेत्रका किसानलाई फाइदा हुने बताए। गण्डकी प्रदेशको मुस्ताङ र मनाङमा व्यावसायिक चौँरीपालन हुने गरेको छ । म्याग्दी र कास्कीको लेकाली क्षेत्रमा पनि चौँरीपालन गरिएको छ ।

यातायात सुविधा नभएको ठाउँमा याकलाई भारी बोकाउन र मासुका लागि प्रयोग गरिन्छ । चौँरीको दूध, घिउ र छुर्पी बिक्री हुन्छ । याक चौँरीको आलो रगत निकालेरसमेत बिक्री गरिन्छ । मुस्ताङ र म्याग्दीमा साउन र चैतमा चौँरीको रगत पिउने मेला लाग्छ । धार्मिक कार्यमा प्रयोग हुने याकचौँरीको पुच्छर महँगो मूल्यमा बिक्री हुन्छ ।

मुस्ताङमा झण्डै चार हजार याकचौँरी रहेको हिमालयन चौरीपालन तथा संरक्षण समितिले जनाएको छ । थासाङ गाउँपालिकामा २२ घरधुरीले व्यावसायिकरूपमा एक हजार पाँच सयभन्दा बढी याकचौँरी पालेका छन् ।

घरपझोङ गाउँपालिकाको मार्फा, स्याङ र जोमसोम गरी आठ घरधुरीले करिब पाँच सय याकचौँरी पालेका छन् । बर्खामा हिमालको फेदी र लेकाली क्षेत्रमा लगिएका याकचौँरीको गोठ चिसो याममा बेँसी झारिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका