Wed May 18 2022
देश

दैलेखको आठबिसकोटमा झडप : ६ जना एमाले कार्यकर्ता घाइते

सुर्खेत । दैलेखको आठबिसकोटमा रहेको भैरव माध्यमिक विद्यालयको मतदान केन्द्रमा नेकपा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस कार्यकर्ता गणेश बहादुर शाही दर्जनौँ भोट हालेपछि झडपको अवस्था आएको एमाले नेताहरूले बताएका छन् ।

शाहीले धेरैको भोट आफै हालेको र त्यस्तो नगर्नुस् भन्दा आक्रमण भएको उनीहरूले बताएका छन् । झडपमा एमालेका आधा दर्जन बढी कार्यकर्ता घाइते भएका छन् ।

घाइते हुनेहरूमा दुर्गा थापा, कल्पना थापा, कमल थापा, दिल्ली थापा, बलबहादुर थापा लगायत रहेका छन् । कांग्रेसको तर्फबाट पुरन पुरी, गणेश पुरी, गणेश बहादुर शाही, गगन शाही, हर्कनाथ योगी, लगायतले आक्रमण गरेको एमालेले जनाएको छ ।

अहिले मतपेटिकाहरू सुरक्षित स्थानमा राखिएको छ । मतदान स्थगित भएको छ ।