जोडिनुहोस
  • होमपेज
  • भारतीय विदेशमन्त्री जयशंकरले महन्थ, उपेन्द्र र सिके राउतलाई सामूहिक किन भेटे ?

भारतीय विदेशमन्त्री जयशंकरले महन्थ, उपेन्द्र र सिके राउतलाई सामूहिक किन भेटे ?

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमणका क्रममा हाल काठमाडौंमा छन् । शुक्रबार दिउँसो उनी नयाँ दिल्ली फर्किदैछन् । बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका जयशंकर त्यसपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा भारतको सहयोगमा निर्माण भएको भवनको उदघाटन गर्न जानेछन् ।

जयशंकर बिहीबार काठमाडौं ओर्लेलगत्तै राजनीतिक भेटघाटमा व्यस्त रहे । सुरुमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपछि नेपाली समकक्षी एनपी साउदसँग भेटवार्ता गरे । होटल याक एन्ड यतिमा आयोजित नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी भए । बैठकमा नेपाल र भारतबीच विभिन्न चारवटा विषयमा सम्झौता र समझदारी भएको छ ।

संयुक्त आयोगको बैठकपछि जयशंकरले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गरेका थिए । होटल द्वारिकाजमा उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरे । तर मधेस केन्द्रित दलका शीर्ष नेतासँग भने उनले सामूहिक भेटवार्ता गरे ।

जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सिके राउतसँग उनले सामूहिक भेटवार्ता गरे । विगतमा पनि भारतीय नेताहरूले मधेस केन्द्रित दलका नेताहरूलाई लाइन लगाएर भेटवार्ता गर्दै आएका थिए । अहिले पनि त्यसैलाई निरन्तरता दिइएको छ । यसलाई भारतले मधेसका नेतालाई हेर्ने दृष्टिकोणमा कुनै फेरबदल नआएको पुष्टि गर्छ । अझै पनि मधेस केन्द्रित सबै दल मिलेर जाउन् भन्ने सन्देश दिन जयशंकरले तीन नेतालाई सामूहिक भेट गरेको आकलन गरिएको छ ।

तर जयशंकरले संसदको चौथो र पाँचौं ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भने भेटेनन् । भारतले रास्वपा र राप्रपालाई अझै विश्वास नगरेको यसबाट प्रस्ट हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका