Thu May 19 2022
देश

बाबुरामले मतदान गरेको केन्द्रका मतदान अधिकृतलाई पनि स्पष्टिकरण

काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेको फोटो खिच्न दिएको आरोपमा मतदान अधिकृतलाई समेत स्पष्टिकरण सोधेको छ ।

आयोगले गोरखाको पालुङटार नगरपालिका अन्नपूर्ण मावि खोप्लाङका मतदान अधिकृत प्रदीपकुमार रुपाखेतीलाई स्पष्टिकरण सोधेको हो । ‘निज डा. बाबुराम भट्टराईले फोटो लिने सामग्री (मोबाइल वा क्यामेरा) लैजाँदा के कति कारणले सम्बन्धित मतदान अधिकृतले फोटो लिने सामग्री लानबाट रोक्नु भएन ?’ स्पष्टिकरणमा भनिएको छ ? ‘

मतदान अधिकृतलाई झुक्याएर फोटो खिच्ने सामग्री लगेर मतपत्रमा गोप्य मत संकेतको फोटो खिचेको भए किन निजलाई तत्काल कारवाही भएन भनेर आयोगले साँचो विवरण खुलाई यथासिघ्र प्रतिवेदन पठाउन आयोगले भनेको छ ।

डाक्टर भट्टराईले मतदान गरेको मतपत्रको फोटो सार्वजनिक गरेका थिए । यसबारेमा आयोगले भट्टराईलाई पनि स्पष्टिकरण सोधिसकेको छ ।