जोडिनुहोस
  • होमपेज
  • जितगढी किल्ला इतिहासको निशानी होः राष्ट्रपति पौडेल

जितगढी किल्ला इतिहासको निशानी होः राष्ट्रपति पौडेल

बुटवल । राष्ट्रपति रामचन्द्र पौडेलले जितगढी किल्ला ठुला साम्राज्यसँग नेपाली सौर्य र कूटनीतिक चातुर्यताले ठुलो बलिदानबाट देश जोगाएको इतिहासको निशानी भएको स्पष्ट पारेका छन् । ऐतिहासिक जितगढी किल्ला नेपाली सेनाद्वारा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा शुक्रवार राष्ट्रपति पौडेलले जितगढीलाई मणि मुकुन्दसेनको दरबार, नुवाकोट गढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मी नगर र हिल पार्कसम्म जोड्न सके यसले देशको पर्यटनको विकासमा समेत योगदान दिने बताए ।

उनले जितगढीलाई बृहत् बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र, नेपाली वीरताको ऐतिहासिक केन्द्रका रूपमा त्यस वरपरका ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी रहेको बताए । उनले भने– ‘यसका लागि अब बुटवल उपमहानगरपालिकाको विशेष भूमिका निर्वाह गर्नेछ भन्ने मैले विश्वास गरेको छु । नेपाली सेनाले तीनै तहका सरकारसँग मिलेर जितगढी पुनर्निर्माणसम्बन्धी गुरुयोजनाअनुसार पानीको फोहोरा, युद्ध झल्कने चित्र र एम्फी थिएटरलगायतका कामहरू भइरहेको जानकारी पाउँदा थप खुसी लागेको छ ।’

उनले जित गढी राष्ट्रिय स्वाभिमान र पहिचानको महत्त्वपूर्ण स्थल भएको उल्लेख गर्दै किल्लाको समयानुकूल प्रचार प्रसार र प्रवर्द्धन गर्दै पर्यटकीय स्थल बनाउन बुटवल उपमहानगरपालिकाले योजनाबद्ध रूपमा काम अगाडि बढाएकोमा आफूलाई खुसी लागेको पनि बताए ।

पौडेलले जितगढी मा उतिबेलाकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोसाकका उजिरसिंहको पूर्ण कदको शालिक, उनीसँगै लडेका नेपाली सेनाका १२ कमाण्डरको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झन्डा फहराउने गरी जीतगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने नेपाली सेना र बुटवल उपमहानगरपालिकाको सराहनीय काम भएको बताए ।

राष्ट्रपति पौडेलले भने– ‘आगामी दिनमा यस किल्लालाई नेपाल अङ्ग्रेज युद्धको अध्ययन, अनुसन्धान गर्ने र पर्यटकीय स्थलको रूपमा प्रवर्द्धन गर्न बुटवल उपमहानगरपालिका, प्रदेश तथा सङ्घीय सरकारलाई यस्ता ऐतिहासिक र सामरिक महत्वका स्थलहरूको संरक्षण र प्रवर्द्धनमा थप चासो बढाउन आग्रह गर्दछु ।’

सो अवसरमा राष्ट्रपति पौडेलले सार्वभौम र स्वाभिमानी नेपाली भनी गर्व गर्न सक्ने आजको दिन वीर नेपाली सेनाले इतिहासमा देखाएको वीरता र सौर्यकै परिणाम भएको भन्दै नेपाली सेनाको इतिहासको प्रशंसा समेत गरे । उनले नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्दै आएको पनि स्पष्ट पारे ।

नेपाल र नेपालीको सुरक्षा, प्रकृति संरक्षण, राष्ट्रनिर्माण, विपद् व्यवस्थापन तथा नागरिकको सहयोगलगायत कार्य समेत नेपाली सेनाले गर्दै आएको चर्चा गर्दै राष्ट्रपति पौडेलले भने– ‘जहाँ नेपाली सेना पुगेर काम थालेको छ, त्यहाँका जनता ढुक्क हुने परिस्थिति निर्माण हुनु भनेको त्यो सैनिक–नागरिक सम्बन्ध विकासको राम्रो उदाहरण हो । गैरराजनीतिक चरित्रको मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाले संविधानसम्मत हुने जुनसुकै सरकारका आदेशलाई सधैँ शिरोधार्य गरेको छ । नेपाली सेनाको यो उत्कृष्ट विशेषताले उक्त सङ्गठनलाई नेपाली जनतामाझ लोकप्रिय बनाएको छ ।’

राष्ट्रपति पौडेलले तिनाउ नदीको तटमा अवस्थित चुरे पहाडको काखमा पहाड र तराईको सङ्गम स्थल तथा प्रसिद्ध व्यापारिक केन्द्रको रूपमा रहेको बुटवललाई आर्थिक केन्द्रका रूपमा विकसित गर्ने र बुटवलसहितका नगरहरूलाई जोडेर मेघा सिटी बनाउने यहाँका जनप्रतिनिधिहरूको चाहना पूरा होस् भन्ने शुभकामना व्यक्त गरे । किल्लाको पुननिर्माणपश्चात् नेपाली सेनाले हस्तान्तरण गरिसकेपछि अब यो किल्लाको थप संरक्षण र प्रवर्द्धनमा बुटवल उपमहानगरपालिकाले पर्याप्त चासो दिने छ भन्ने आफुले अपेक्षा राखेको राष्ट्रपति पौडेलको धारणा थियो ।

यसअघि रुपन्देहीको नयाँपुलस्थित मुक्तिनाथ धामको अवलोकन तथा पूजा अर्चना गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका