जोडिनुहोस
  • होमपेज
  • कञ्चनपुरमा आजदेखि जलपक्षी गणना शुरु

कञ्चनपुरमा आजदेखि जलपक्षी गणना शुरु

कञ्चनपुरमा आजदेखि जलपक्षी गणना शुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पक्षी संरक्षण सङ्घ, हिमालयन नेचरगाइड, शुक्लाफाँटा नेचर गाइड एसोसिएशनलगायत सङ्घसंस्थाले जलपक्षी गणना थालेका हुन् ।

जलपक्षी गणना आजदेखि माघ ७ गतेसम्म जारी रहने नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताउनुभयो । उहाँका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रमा सिमसार क्षेत्र, ताल तलैया, नदीलगायत र निकुञ्ज बाहिरका जलाधार क्षेत्रमा जलपक्षी गणना हुनेछ ।

निकुञ्ज बाहिरका क्षेत्रमा डिभिजन वन कार्यालयसँग समन्वय गरी जलपक्षी गणना हुने चराविज्ञ डगौराले बताउनुभयो । जलपक्षी गणनामा ‘वाइनाकुलर टेलिस्कोप’ र ‘जीपीएस’सहितको क्यामेराको प्रयोग गरिने छ । हिँडेर पुग्न सकिने ठाउँमा स्थलगत रुपमै गणना हुन्छु, उहाँले भन्नुभयो, स्थलगत रुपमा हिँडेर पुग्न नसकिने ठाउँमा डुङ्गा र हात्तीमा चढेर जलपक्षी गणना गर्छौँ ।

सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराको विवरण तथा अवस्था पत्ता लगाउन, सङ्ख्याको अद्यावधिक गर्न हरेक वर्षको यसै दिनदेखि जलपक्षी गणना हुँदै आएको छ । गणनाका क्रममा तालतलैयामा जलपक्षीको सङ्ख्या यकिन गर्ने कार्यसँगै सीमसारको अवस्थाबारे अध्ययन हुनेछ । कञ्चनपुरसँगै कैलाली र बर्दियाका सीमसार क्षेत्र तथा तालतलैया, नदी तथा जलाधार क्षेत्रमा जलपक्षी गणनको कार्य हुने डगौराले जानकारी दिनुभयो ।

कञ्चनपुरका सिमसार तथा जलाधार क्षेत्रमा प्रत्येक वर्षको हिउँदमा ५५ देखि ६० बढी प्रजातिका चरा बसाइँ सरेर साइबेरियालगायत उत्तरी ध्रुवबाट बसाइँ सरेर आउने गरेका छन् । रैथाने प्रजातिका जलपक्षीसमेत यहाँ रहेका छन् । उहाँका अनुसार सिमसार क्षेत्र, आहारा, सुरक्षा र गुँड लगाउनका लागि पर्याप्त ठाउँ भएकाले बसाइँ सार्दै पाहुना जलपक्षी यहाँका सिमसार क्षेत्र, तालतलैया, नदीलगायत क्षेत्रमा पुग्ने गर्दछन् ।

चैतदेखि जेठसम्म पुनः पक्षी साइबेरियालगायत क्षेत्रमा फर्कने गरेका छन् । नेपालमा आठ सय ७७ प्रजातीका चरा पाइने गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको आसपासको क्षेत्रमा मात्रै रैथाने प्रजातिका चार सय २३ प्रजातिका चरा पाइने गरेका छन् । नेपालमा सन् १९८७ देखि नियमित रुपमा जलपक्षी गणना हुँदै आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका