Wed May 18 2022
अन्तर्राष्ट्रिय

कोभिड-१९ बाट उत्तर कोरियामा थप २१ जनाको मृत्यु

काठमाडौँ- ज्वरोका कारण उत्तर कोरियामा थप २१ जनाको मृत्यु भएको छ । यससँगै उत्तर कोरियामा कोभिड १९ को लक्षणबाट मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । यद्यपि मृत्यु भएकाहरुमध्ये कतिलाई कोरोना भाइरसको संक्रमण थियो भन्ने स्पष्ट नरहेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

यसअघि शुक्रबार उत्तर कोरियाले पहिलो पटक कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको जनाएको थियो । यसबाहेक उत्तर कोरियाले १ लाख ७४ हजार भन्दा धेरैमा ज्वरोको लक्षण देखा परेको जनाएको छ ।

उत्तर कोरियाले दुई दिनअघि मात्रै आफ्नो मुलुकमा कोरोना भाइरसका प्रथम संक्रमित फेला परेको जनाएको थियो । त्यसयता मुलुकमा लकडाउन घोषणा गरिएको छ । त्यहाँ अप्रिल महिनाको अन्त्यदेखि कोरोना भाइरसको प्रकोप देखिएको एपीले जनाएको छ ।

उत्तर कोरियाली सरकार नियन्त्रित समाचार संस्था केसीएनएका अनुसार मुलुकमा २ लाख ४३ हजार ६ सय ६० जना निको भएका छन् भने २ लाख ८० हजार ८ सय १० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले भाइरससँग जुध्ने रणनीतिबारे शनिबार आयोजित बैठकमा मुलुकमा जारी प्रकोपलाई ऐतिहासिक रुपमा ‘ठूलो बिघ्न’ भनी टिप्पणी गरेको जनाइएको छ । उनले मुलुकमा प्रकोप नियन्त्रण तथा व्यवस्थापनका लागि सरकार र जनता एक हुनुपर्ने समेत बताए ।

उत्तर कोरियाले कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न नसकेको खण्डमा ठूलो क्षति हुने जोखिम रहेको बताइन्छ । कमजोर स्वास्थ्य संरचना र २ करोड ६० लाख जनसंख्यामध्ये अधिकांशले कोरोना भाइरस विरुद्ध खोप नलगाएका कारण उत्तर कोरियामा तीव्र गतिमा भाइरस फैलिने चिन्ता रहेको एपीले जनाएको छ ।