जोडिनुहोस
  • होमपेज
  • हतुवागढीमा जनस्तरबाट १९ किलोमिटर सडक निर्माण

हतुवागढीमा जनस्तरबाट १९ किलोमिटर सडक निर्माण

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले जनस्तरबाट १९ किलोमिटर सडक निर्माण गर्ने स्थानीयवासीलाई सम्मान गरेको छ । स्थानीयको अगुवाइमा व्यक्तिगत तथा विभिन्न सङ्घ संस्थाबाट रु ६१ लाख ७६ हजार लागत सङ्कलन गरेर सुन बालुवा–घोडेटार सडक निर्माण गरिएको हो ।

हतुवागढी क्षेत्रमा सडक विस्तारको लागि ‘स्काभेटर’ अरुण नदीबाट तारेको १४ वर्ष पुगेको अवसरमा तत्कालीन समयमा सडक निर्माणमा आर्थिक सहयोग गर्ने ३८ स्थानीयलाई सम्मान गरिएको हो । जनस्तरमा जागरण जुटाएर रु आठ सयदेखि पाँच लाख ४० हजारसम्म आर्थिक सहयोग गर्ने स्थानीयवासीलाई गाउँपालिकाले सम्मान गरेको छ । यो सडक निर्माणको लागि व्यक्तिगत रुपमा रु २८ लाख ६४ हजार नौ सय ९३ र विभिन्न सङ्घ संस्थाबाट रु ३३ लाख ११ हजार छ सय लगानी भएको बताइएको छ ।

सडक विस्तारको स्मरणको लागि घोडेटार बजारमा सडक स्मारक स्तम्भसँगै घोडाको प्रतिमासमेत राखिएको छ । स्मारकमा रहेको शिलालेखमा दाताको नामावली राखिएको छ । सोही कार्यक्रममा घोडाको प्रतिमाको समेत अनावरण गरिएको छ । हतुवागढी गाउँपालिकाको ऐतिहासिकता उजागर गर्दै दाताको सम्मानस्वरुप स्मारक निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । यहाँ निर्माण गरिएको स्मारकले घोडेटारको ऐतिहासिक विशेषतासँगै अन्य पक्षलाई समेत समेटेको उनको भनाइ छ ।

“विशेष दिन पारेर दातालाई सम्मानसँगै सडक स्मारकमा घोडाको प्रतिमा अनावरण गरेका छौँ”, उनले भने, “यसले यहाँको ऐतिहासिकतालाई झल्काउने छ भने यहाँको पर्यटनको प्रवद्र्धनमा टेवा पुग्ने हामीले अपेक्षा लिएका छौँ । सडक विस्तारमा सहयोग गर्ने दाताको योगदानको पनि कदर हुनेछ ।” कार्यक्रमको अवसरमा सडक निर्माणमा योगदान गर्ने तत्कालीन समितिलाई प्रशंसापत्रसमेत हस्तान्तरण गरिएको अध्यक्ष राईको भनाइ छ ।

सडकको कारण समस्या भोगिरहेको अवस्थामा तत्कालीन समयमा ज्यानको प्रवाह नगरी ११ घण्टा लगाएर अरुण नदीबाट डोजर तारिएको दिनको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ । “विकासका निमित्त जनस्तरबाट गरिएको यो साहसिक काम हो”, उनले भने, “त्यो समयबाट हाम्रो क्षेत्रमा सडक विस्तारको थालनी भएको हो । सुरुको चरणमा नागरिकस्तरबाट खेलिएको भूमिकाको कदर गर्नको लागि उहाँहरुलाई सम्मान गरेका हौँ ।”

गाउँपालिकाले सम्मानपत्रसँगै यो काममा योगदान पुर्याउने दाताको नाम शिलापत्रमा राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए । स्थानीय नागरिकले यहाँको विकासमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्ने लक्ष्यले गाउँपालिकाले सम्मान गरेको उनको भनाइ छ । “स्थानीय नागरिकले आफ्नो ठाउँको विकासमा आफैँले पनि भूमिका खेल्न आवश्यक छ”, उनले भने, “तत्कालीन समयमा स्थानीयले जनस्तरबाट खेलेको भूमिका प्रशंसायोग्य छ । नागरिकले खेलेको भूमिकाको सम्मानस्वरुप उहाँहरुलाई सम्मान गरेका हौँ ।”

ग्रामीण सडक विस्तारसम्म नभएको अवस्थामा यहाँ सडक विस्तारको लागि अरुण नदीबाट पहिलोपटक ‘स्काभेटर’ तारिएको थियो । त्यो समयमा जनस्तरबाट गरिएको कामले भौगोलिकरुपमा निकै विकट मानिने दक्षिणी क्षेत्रमा सडक खनिएको थियो । स्थानीयले करिब रु ६१ लाख ७६ हजार रकम जम्मा गरेर २०६० सालमा धनकुटा मुगा–सुन बालुवा–होम्ताङ–घोडेटार सडक विस्तार गरेका थिए । जनस्तरबाट सङ्कलन भएको रकमबाट भोजपुर क्षेत्रमा १९ किलोमिटर सडक खनिएको हो । स्थानीयबाट आफ्नो क्षमताअनुसारको सङ्कलन गरेर सडक निर्माण गरिएको तत्कालीन सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष ध्यानबहादुर राउतले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका