Wed Aug 17 2022
अन्तर्राष्ट्रिय

भारतमा अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त, एसी मेशिनको माग धान्न कठिन

भारतमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । कैयौँ राज्यमा तापक्रम ४२ डिग्री सेल्सियस भन्दामाथि पुगेकोे छ । मुम्बई, दिल्ली, केरला, वाराणसी, अमृतसर, अमदाबाद, बेङ्गलोर, कोलकाता लगायतका सहरको जनजीवन गर्मीले अस्तव्यस्त बनाएको छ ।

ठाउँ–ठाउँमा सडकको कालोपत्रे नै पग्लिएको र चराहरू मर्न थालेका खबरमा उल्लेख छ । बढ्दो गर्मीसँगै खानेपानीको अभाव हुँदा रेलले टाढा टाढाबाट पानी बोकेर माग पूरा गरिरहेका छ । तातो हावाका कारण मानिसहरू घरबाहिर निस्कन मुस्किल परिरहेको छ ।

भारतले विभिन्न सहरमा गएको अप्रिल महिनामा एक शताब्दीयताकै उच्च गर्मी भएका रेकर्ड सङ्कलन गरेको छ । बढ्दो गर्मीका कारण भारतमा वातानुकूलित उपकरण एसी मेशिनको बिक्रीमा रेकर्ड बनेको छ ।

दिल्लीको तापक्रम ४९ डिग्री सेल्सियससम्म पुगेको र यो सिजनमा मात्रै ९० लाख एसी मेशिन बिक्री हुने अनुमान गरिएको उपभोक्ता इलेक्ट्रिक्स उपकरण निर्माता सङ्घले जनाएको छ । यसअघि सन २०१९ मा सबैभन्दा धेरै ६५ लाख एसी मेशिन बिक्री भएका थिए ।

यो वर्ष अप्रिलको साटो मार्चको दोस्रो हप्तादेखि नै अत्यधिक गर्मी सुरु भएकाले एसी मेशिनको माग धान्न गाह्रो भइरहेको जनाइएको छ । कोरोना महामारीका कारण चीनबाट पर्याप्त उपकरण नआउँदा माग धान्न मुस्किल भएको भारतीय कम्पनीहरूले जनाएका छन ।