Mon Jul 4 2022
देश

एमाले पर्सा : ३ स्थानीय पालिका फर्कायो , एमालेको गढ काँग्रेसले ढाल्यो

  • नरेश सरार्फ

पर्सा । पर्साको तीनवटा स्थानीय तहमा नेकपा एमालेको लालकिल्ला बनेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा गुमाएको तीन स्थानमा पुनः विजय हासिल गरेको छ । पर्साको पर्सागढी नगरपालिका, पोखरिया नगरपालिका र ठोरी गाउँपालिकामा नेकपा एमालेले प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष मा नै विजय हासिल गरेको हो ।

बिहीबार बिहानसम्मको अन्तिम मत परिणाम अनुसार पर्साको पोखरीया नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । पोखरीया नगरपालिकाको मेयरमा एमालेका प्रधुम्न चौहान विजयी हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार एंव निवर्तमान मेयर दिपनारायण रौनीयारलाइ २४३३ मतको फराकिलो मत अन्तरले पराजित गर्दै चौहान मेयरमा निर्वाचित हुनुभएको हो ।

चौहानले ५५५४ मत पाउदा काँग्रेसका उम्मेदवार रौनीयारले भने ३१२१ मत पाउनु भएको छ । मेयरमा नेपाल सुशासन पार्टीका शंकर राउत अहिरले २९०९ , लोसपाका निजामुदिन समानीले २६१५ र जसपाका राजीव कुमार तेलीले ८५८ मत पाएका छन् । यस्तै उपमेयरमा पनि एमालेकै रुवी कुमारी ठाकुर ५१९५ मतका साथ विजयी हुनुभएको छ ।

उहाँको निकटतम प्रतिस्पर्धी रेहना खातुनले ३९२९ , लोसपाकी आशा कुमारी चौहानले २४६५ र नेपाल सुशासन पार्टीकी विणा देवीले २२४९ मत ल्याउनु भएको छ ।

गोकर्णले फर्काए पर्सागढी
नेकपा एमालले लालकिल्ला बनाएको अर्को स्थानीय तह हो पर्सागढी । यसअघिको निर्वाचनमा हार व्यहोरेको एमालेले पर्साको पर्सागढी नगरपालिकाको नगरप्रमुखमा यसपटक भने जितेको छ । नेकपा एमालेका गोकर्ण पाठक नेपाली कांग्रेसका निवर्तमान नगरप्रमुख लोकनारायण यादवलाई २ हजार ८ सय ९१ मतको फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित हुनु भएको हो । पाठकले ६ हजार ६ सय २४ मत पाउनु भएको छ ।

यादवलाई ३ हजार ७ सय ३३ मत परेको छ । जनता समाजवादी पार्टी (जसपा) का सुरज कुमार मानन्धरले २ हजार ६ सय ८४ मत पाउँदा नेकपा माओवादी केन्द्रका चन्द्र भुषण सिंहले १ हजार ३ सय ७२ मत पाएका छन् । नेकपा एकिकृत समाजवादी पार्टीका सत्यनारायणप्रसाद दास थारुले १ हजार ३ सय ५७ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मैनुरदिन मियाले ५ सय १५ मत पाएका छन् ।

नगर उपप्रमुखमा पनि नेकपा एमालेकै पुजा चौधरी निर्वाचित भएकी छिन् । पुजाले ७ हजार ६ सय १६ मत पाउँदा निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निवर्तमान उपप्रमुख अर्चना चौधरीले ३ हजार ४ सय ३० मत पाएकी छिन् । जसपाकी रंजना देवी यादवले २ हजार ४ सय ५५ मत पाएकी छिन् भने नेकपा माओवादी केन्द्रकी शोभावती कुमारीले १ हजार २ सय ७४ मत पाएकी छिन् ।

ठोरीमा एमालेको जित
नेकपा माओवादीले जित्ने आशा गरेको एउटा मात्रै स्थानीय तह ठोरी यसपटक एमालेले खोसेको छ । पर्साको ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा नेकपा एमालेका लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा पनि एमालेकै गोकुली कुमारी रेग्मी निर्वाचित भएका हुन् ।

निकटम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष नेकपा माओवादी केन्द्रका उम्मेदवार पदमलाल (पिएल) श्रेष्ठलाई ७ सय २० मतान्तरले पराजित गर्दै लालबहादुर बिजयी हुनुभएको हो । लालबहादुरले ४ हजार ४९ मत ल्याउँदा पिएल श्रेष्ठले ३ हजार ३ सय २९ मत ल्याउनुएको छ । नेपाली कांग्रेस मधेश प्रदेशका महामन्त्रीसमेत रहेका बृहस्पतिकृष्ण श्रेष्ठले २ हजार ५ सय ४८ मत पाउनु भएको छ । जनता समाजवादी पार्टी (जसपा) का बिष्णु लोप्चनले २ सय १२ मत पाउनु भएको छ ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी निरु तामांगलाई १ हजार २ सय १६ मतले पराजित गर्दै एमालेकी गोकुली कुमारी रेग्मी निर्वाचित भएकी हुन् । रेग्मीले लोकप्रिय मत ४ हजार २ सय ५९ मत पाउँदा तामांगले ३ हजार ४३ मत मात्रै पाउनु भएको छ । तामाङ एमाले छोडेर माओवादीमा आउनु भएको थियो ।

नेपाली कांग्रेसकी चीनमाया लामाले २ हजार ४ सय ३१ मत पाउनु भएको छ । माओवादी केन्द छोडेर जसपाबाट उम्मेदवार बन्नु भएकी धना पण्डित १ सय ७१ मतमै सिमित हुनुभएको छ । यसअघिको निर्वाचनमा ३ वटा वडा जितेको ठोरीमा माओवादीले यसपटक एउटा वडा सुरक्षित राख्न सकेको छ । वडा नम्बर ५ का अष्ट बहादुर लोप्चनले मात्रै जित्नुभएको छ ।

एमालेको गढ जीराभवानी गाउँपालिकामा ढाल्यो काँग्रेस
स्थानीय तहको निर्वाचनअन्तर्गत पर्सा जिल्लाको पालिकामा नेपाली कांग्रेसले पहिलो जित निकालेको थियो ।
जिराभवानी गाउँपालिकाको अध्यक्ष र उपाध्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । १४ वटा पालिका रहेको पर्सामा जारी मतगणनामा मंगलबार राति अन्तिम परिणाममा आएको पहिलो पालिका जिराभवानी गाउँपालिकाको अध्यक्ष र उपाध्य दुवै पदमा कांग्रेस विजयी भएको हो।

जिराभवानी गाउँपालिकाको अध्यक्षमा ३२ वर्षीय अनोज चौधरी निर्वाचित भएका हुन्। यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै रेखा चौधरी निर्वाचित भएकी छन् । गाउँपालिका अध्यक्षमा निर्वाचित अनोजले निवर्तमान गाउँपालिका अध्यक्ष एवं नेकपा एमालेका उम्मेदवार रामपृत महतोलाई १ हजार २६१ मतको फराकिलो मतान्तरले पराजित गरेका हुन् । अनोजले ४ हजार ५६० मत पाएका हुन् भने निवर्तमान अध्यक्ष महतोले ३ हजार २९९ मतमात्रै पाए।

यस्तै उपाध्यक्षमा विजयी रेखाले पनि एमालेकी उम्मेदवार एवं निवर्तमान गाउँपालिका उपाध्यक्ष उषादेवी थरुनीलाई १ हजार ७४५ मतको अन्तरले पराजित गरेकी हुन् । निर्वाचन अधिकृत झविन्द्र प्रसाद पाण्डेका अनुसार उपाध्यक्षमा निर्वाचित कांग्रेसकी रेखाले ४ हजार ७१० मत प्राप्त गरेकी हुन् भने प्रतिस्पर्धी एमाले उम्मेदवार उषाले २ हजार ९६५ मत पाइन् ।

पाँच वटा वडा रहेको जिराभवानी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित तीन वडा पनि कांग्रेसले नै जितेको छ। बाँकी दुई वडाको अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । जिराभवानी गाउँपालिका अध्यक्षमा निर्वाचित ३२ वर्षीय अनोज, पूर्वगाविस अध्यक्ष स्वर्गीय महादेव महतोका छोरा हुन् ।

पूर्व फर्मासिस्ट अनोज, आफ्ना बुबाको सपनालाई साकार पार्न भन्दै नेशनल हेल्थ केयरको जागिर छोडेर राजनीतिमा प्रवेश गरेका हुन् । फार्मेसी पेशासँग आबद्ध भई मास्टर इन फार्मेसी गरेका अनोजले आफनो पहिलो प्राथमिकता कृषिमा क्रान्ति ल्याउने रहेको बताएका छन् ।

पकाहामैनपुर गाउँपालिकामा पनि काँग्रेसको शानदार जित
जिल्लाकै पकाहामैनपुर गाउँपालिकामा नेपाली कांग्रेसले सान्दार जित हासिल गरेको छ । पकाहामैनपुर गाउँपालिकाको दुइ खुल्ला सदस्य र एक दलित महिला सदस्य बाहेक पालिका अध्यक्ष उपाध्यक्ष र पाँच वटै वडा अध्यक्ष सहित पुरै पदमा काँग्रेस विजयी भएको हो ।

गाउँपालिकाको मतगणनाको अन्तिम परिणाम अनुसार , गाउँपालिकाको अध्यक्षमा सुरेश प्रसाद मेहता निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार एंव निवर्तमान गापा अध्यक्ष विजयकुमार चौरसियालाई २ हजार १ सय ५६ मतको फराकिलो अन्तरले पराजित गर्दै मेहता गापा अध्यक्षमा निर्वाचित भएका हुुन् ।

मेहताले ४६८५ मत पाएका हुन् । जसपाका चौरसियाले भने २५२९ मत मत्रौ पाएको निर्वाचन अधिकृत कृष्णाप्रसाद देवकोटाले जानकारी दिए । गाँउपालिका उपाध्यक्षमा कांग्रेसकै सरफुन नेशा ४१४१ मतका साथ निर्वाचित भएकी छन् । उनकी निकटम प्रतिद्वन्द्वी एमालेकी निर्मला कुमारी चौरसियाले भने १८७२ मत मात्रै प्राप्त गरिन् ।

विन्दवासनीमा निवर्तमान अध्यक्षलाई २८५२ मतले लोसपाकाले हरायो
पर्साको विन्दवासनी गाउँपालिकाको निवर्तमान गाउँपालिका अध्यक्ष श्रीलाल साह (मोदी) लाई फराकिलो मतान्तरले एक समाजसेवीले पराजित गरेका छन । गाउँपालिका मात्र नभई पर्सा जिल्लामै समाजसेवाका अग्रणिभूमिका निर्वाह गर्दै आएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को तर्फबाट गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार प्रमोद तिवारीले निवर्तमान मेयर साहलाई २ हजार ८ सय ५२ मतको फराकिलो मतान्तरले हराउँन सफल भए ।

तिवारीलाई जनताले ४ हजार १ सय ४४ मत दिई विजय गराएका छन । निवर्तमान अध्यक्ष साहलाई भने, १ हजार २ सय ९२ मत दिएर समेटेका छन । तिवारीको मुख्य प्रतिद्धन्द्धी भने, नेपाली काँग्रेसका युवा नेता विवेक चौरसियाले ३ हजार ४ सय ६८ मत प्राप्त गरेका छन । चौरसियालाई तिवारीले ६ सय ७३ मतको अन्तरले विजयी भएका हुन ।

गाउँपालिका उपाध्यक्षमा एमालेकी ज्योति देवी चौरसियाले गाउँपालिकाका निवर्तमान उपाध्यक्ष किरण देवी गुप्तालाई ८५ मतले मात्र हराउँन सफल भएकी छिन । चौरसियाले २ हजार ३ सय ६६ मत ल्याएका थिए । निर्वतमान उपाध्यक्ष गुप्ताले भने, २ सय २ सय ८१ मत मात्र ल्याउँन सफल भएकी थिईन । तर चौरसियाको मुख्यप्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रकी सुनिता चौरसिया रहेका थिए । यिनले २ हजार २ सय ८७ मत ल्याएका थिए । एमालेकी ज्योति माओवादीकी ज्योति भन्दा ७९ मत बढी ल्याएर विजयी भएकी हुन् ।

ज्योती अघिल्लो निर्वाचनमा राजपाबाट अध्यक्ष लडेका लक्ष्मण चौरसियाकी बुहारी हुन् भने सुनिता माओवादी नेता स्वर्गीय मुकेश चौरसियाकी श्रीमती हुन् । मुकेशको तत्कालिन नेकपाको दुई गुट बिच भएको झडपमा परेर मृत्यु भएको थियो ।

एमालेका गम्भिरा साह तेली १ हजार ८ सय ८९, र पूर्व डिआईजी रमेश खरेलको पाटीृ नेपाल सुशासन पार्टीका मधुसुधन चौरसिया ५ सय ९९ मत मात्र ल्याउँन सफल रहे । ५ वटा वडा रहेको गाउँपालिकाको ३ वटा वडामा कांग्रेस र एकरएक वटा वडामा जसपा र माओवादी विजयी भएको छ । वडा नम्बर १ को वडाध्यक्षमा जसपाका अकक्षय लाल महतो, वडा नम्बर २ मा कांग्रेसका मुक्तीनाथ प्रसाद कुर्मी, वडा नम्बर ३ मा कांग्रेसकै जयप्रकाश चौरसिया, वडा नम्बर ४ मा पुनस् कांग्रेस कै अनोज चौरसिया र वडा नम्बर ५ मा माओवादी केन्द्रका मोहन राउत अहिर विजयी भएका छन् ।

जसपाले १ नगरपालिका २ गाउँपालिका हात पारे
जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पर्साको बहुदरमाई नगरपालिका र बोधनी र कालिकामाई गाउँपालिकामा जित्न सफल भएको छ । बहुदरमाई नगरपारिकामा अन्तिम मत परिणाम आउँन बाँकी छ । जसपाका सिंहासन साह तेलीले ५ हजार ५ सय १२ मत ल्याई अग्रस्थानमा छन । उनका प्रतिद्धन्द्धी एमालेका शिव पटेल ५ हजार ६९ मतले पछ्याउँदै छन । हुन त ३ सय भोट मात्र गल्न बाँकी छ । गणितभाग लगायो भने, सिंहासन साह तेली जिती सकेका छन ।

बोधवी गाउँपालिकाको अध्यक्षमा भने, जसपाकै मदन चौहान विजयी भईसकेका छन । उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका वशिष्ठनारायण कुर्मीलाई २० मतले हराएका छन । चौहानले ३०९१ मत ल्याएका थिए भने, उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका वशिष्ठनारायण कुर्मी ३ हजार ७१ मत ल्याएका छन । त्यसैगरी उपाअध्यक्षमा काँग्रेसका मन्जु देवी ३ हजार ४३ मत ल्याएर विजयी भएका छन । उनका प्रतिद्धन्द्धी जसपाका प्रियंका देवी यादवले २ हजार ५ सय ७७ मत मात्र ल्याउन सकेका छन ।

त्यसैगरी कालिकामाई गाउँपालिकाको अध्यक्ष पदमा जसपाले जिते पनि उपाध्यक्षमा काँग्रेसले जित हालिस गरेको छ । जसपाका युवा नेता २१ बर्षिय वशिष्ठ प्रसाद गुप्ताले काँग्रेसका उम्मेदवार अजय पटेललाई ११७ मतले पराजित गरेका छन । गुप्ताले ३ हजार ७ सय ४३ मत ल्याएका थिए भने, पटेलले ३ हजार ६ सय २६ मत मात्र ल्याउँन सकेका छन ।

उपाध्यक्षमा जसपाका उम्मेदवार सहाना खातुनलाई काँग्रेसका उपाध्यक्षका उम्मेदवार राजमती देवीले १२३ मतले पराजित गरेका हुन । राजमतीले ३ हजार ९ सय ८२ मत ल्याएका थिए । उनका प्रतिद्धन्द्धी जसपाका खातुनले भने, ३ हजार ८ सय ५९ मत ल्याएर पराजित भएका हुन ।