जोडिनुहोस
  • होमपेज
  • घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि

घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि

काठमाडौं । विगत २ वर्षदेखि मन्दी र घरजग्गा वर्गीकरणका कारण शिथिल रहेको घरजग्गा कारोबार पुस महिनामा आएर उल्लेख्य वृद्धि भएको छ । पुस महिनामा मात्र १ लाख ३६ हजार ७ सय ७३ वटा घरजग्गासम्बन्धी विविध कार्य हुँदा सरकारलाई एकै महिनामा ३ अर्ब २० करोड ५२ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पुस महिनामा कुल ४५ हजार २ सय ७७ वटा लिखत पारित भएका छन् । यो गत मंसिर महिनाको भन्दा ८ प्रतिशतबढीले जग्गा खरिद–बिक्री हुनु हो ।

मंसिरमा घरजग्गा कारोबारबाट २ अर्ब ८६ करोड राजस्व संकलन भएको थियो । मंसिरको तुलनामा पुसमा राजस्व संकलन पनि ३५ करोड रुपैयाँले बढेको छ । चालू आर्थिक वर्षमा घरजग्गा किनबेचबाट साउनमा २ अर्ब ९१ करोड, भदौमा ३ अर्ब, असोजमा ४ अर्ब र कात्तिकमा २ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको तथ्यांक विभागको रहेको छ ।

विभागका अनुसार पुस महिनामा मुलुकभरका मालपोत कार्यालयबाट ४५ हजार २ सय ७७ वटा लिखत पारित भएका छन् । गत मंसिरमा साढे ४२ हजार लिखत पारित भएका थिए ।सरकारले स्थानीय तहमार्फत घरजग्गाको वर्गीकरण गरी कित्ताकाट खुकुलो पारेपछि कित्ताकाटको संख्या पनि बढेको छ । यही अवधिमा बैंकहरूमा लगानीयोग्य रकम बढ्न थालेको तथा बैंकहरूको ब्याजदर पनि निरन्तर रूपमा घट्न थालेकाले घरजग्गाको कारोबार बढेको हो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जाको सीमा बढाउँदै साउनबाट कित्ताकाट खुलाए पनि कारोबार भने बढ्न सकेको थिएन । तर, अहिले बजारमा आर्थिक मन्दी बिस्तारै हट्न थालेकाले र बैंकहरूमा पनि तरलता बढेका कारण जग्गाको कारोबार बढेको आँकलन गरिएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका