Sun Jul 3 2022
आर्थिक

पैसा तिर्न नसकेपछि भारतबाट उधारोमा पेट्रोलियम पदार्थ ल्याएर बेच्दै नेपाल आयल निगम

काठमाडौ ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपाल आयल निगमले पछिल्लो सात–आठ वर्षमा पहिलो पटक इन्डियन आयल कर्पोरेशन आईओसीलाई आपूर्तिको पूर्ण रूपमा भुक्तानी गर्न सकेको छैन ।आयल निगमले प्रत्येक १५ दिनमा आईओसीलाई रकम भुक्तानी गर्ने गरेको छ।

गत वैशाख २६ मा निगमले झन्डै २५ अर्ब रुपैयाँ तिर्नुपर्ने थियो । तर रकमको अभाव भएपछि निगमले झन्डै १२ अर्ब रुपैयाँ मात्र भुक्तानी गर्न सकेको र बाँकी १२ अर्ब ८० करोड रुपैयाँ तिर्न नसकेको निगमका अधिकारीहरूले बताएका छन्। निगमले आगामी साता आईओसीलाई झन्डै १८ अर्ब रुपैयाव तिर्नुपर्ने छ।

यसअघिको बक्यौता समेत जोड्दा झन्डै ३१ अर्ब रुपैयाँ तिर्नुपर्ने हुन्छ। त्यसमध्ये इन्धनको विक्रीवितरण गरेर १० अर्ब रुपैयाँसम्म बजारबाट उठ्ने आकलन निगमको छ।पूरै रकम जोहो गर्न नसक्ने भएकोले हामीले सरकारसँग अनुरोध गरिरहेको नेपाल आयाल निगमले जनाएको छ ।

निगमका अनुसार विगतमा समयमै रकम भुक्तानी गर्न नसक्दा आईओसीले तेल आपूर्ति नै घटाइदिएको थियो। पछि सरकारी तहबाट अनुरोध गरिएपछि मात्रै अवस्था सुधार भएको हो ।रुस र युक्रेनबीच जारी युद्धका कारण पछिल्ला केही महिनामा विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य अकासिएको छ।

जेठ २ गते नेपालको आन्तरिक बजारमा पेट्रोलमा समायोजन भएको मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १७० पुगेको छ भने डीजल र मट्टितेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर पुगेको छ।