जोडिनुहोस
  • होमपेज
  • ढुङ्गा उत्खननले पानीका मुहान सुक्दै

ढुङ्गा उत्खननले पानीका मुहान सुक्दै

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित चन्दली डाँडामा ढुङ्गा उत्खननसँगै पानीको मुहान सुक्न थालेका छन् । बिक्री वितरण गर्ने उद्देश्यका साथ घर छाउने ढुङ्गा उत्खनन हुन थालेपछि पानीका मुहान सक्दै जान थालेका हुन् ।

स्थानीय स्वास्थ्य चेपाङको नेतृत्वमा उक्त स्थानमा ढुङ्गा उत्खनन भइरहेको स्थानीयवासी रेशम चेपाङले बताए । “अवैधरुपमा उक्त स्थानमा ढुङ्गा उत्खनन हुने गरेको छ । ती ढुङ्गा चितवनका विभिन्न होटल निर्माण प्रयोजनका लागि प्रयोग गरिन्छन्”, उनले भने ।

अवैधरुपमा ढुङ्गा उत्खनन गर्न थालेपछि खानीको डाँडाभन्दा तल रहेका चेपाङ गाउँ गारघर, जैथली, चौकीडाँडा, साप्रेनी र बङ्ग्याङलगायतमा पहिरोको जोखिममा बढेको छ । करिब २० वर्ष अघि पनि उक्त स्थानबाट ढुङ्गा निकाल्दा पहिरो गएको थियो । पुनःसोही ठाउँबाट जथाभावी ढुङ्गा निकाल्न थालेपछि स्थानीयमा पहिरोको जोखिम बढेको भन्दै त्रास छाएको छ ।

ढुङ्गा उत्खनन गर्दै गर्दा ती गाउँमा पिउने पानीको मुहानमा सुक्दै गएको रेशमले बताए । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ र वडाध्यक्ष सन्तबहादुर रानालाई जानकारी गराउँदा पनि कुनै चासो नदिएको भन्दै अनुगमनसमेत गर्न नआएको उनको भनाइ थियो ।

ढुङ्गा उत्खनन कार्य रोक्न आग्रह गर्दा उत्खननको नेतृत्व गर्ने स्वास्थ्य चेपाङले चुप लागेर बस्न भनी धम्की दिएको रेशमले जानकारी दिए । उनले भने, “ढुङ्गा उत्खनन भएको थाहा पाएपछि गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षलाई जानकारी गराएँ, तर उहाँहरु अनुगमनमा आउनु भएको छैन । पानीको मुहान सुक्दै गएको र पहिरोको जोखिम भएकाले उत्खनन कार्य रोक्न वडासदस्य विक्रम चेपाङलाई आग्रह गरे पनि हालसम्म सुनुवाई भएको छैन । ढुङ्गा उत्खनन गर्ने ठेकेदारले चुप लागेर बस्ने धम्की दिएको छ ।”

तीन साताअघिदेखि अवैधरुपमा ढुङ्गा उत्खनन गरेको थाहा पाइएपछि वडासदस्य चेपाङ सो स्थानमा निरीक्षणमा पुग्नुभएको थियो । गाउँपालिका अध्यक्ष गुरुङसँग यस विषयमा प्रतिक्रिया लिँदा उक्त स्थानमा ढुङ्गा उत्खननका लागि पालिकाले कसैलाई अनुमति नदिइएको बताए । “हामीलाई पनि त्यहाँ ढुङ्गा निकालेको जानकारी आएको छ । आइतबार हामी निरीक्षणमा जाने तयारीमा छौँ”, उनले भने ।

यसैबीच श्री नागेन सामुदायिक उपभोक्ता समिति इच्छाकामना–१ ज्यान्दालाले विज्ञप्ति निकालेर ढुङ्गा उत्खनन कार्य रोक्न आग्रह गरेको छ । उक्त सामुदायिक वनभित्र रहेको सार्वजनिक जग्गाको ढुङ्गा उत्खननसँगै पहिरोको जोखिम बढेको र चन्दलीको टारसँग जोडिएको उक्त जग्गा मासिँदै गएको जनाइएको छ ।

उक्त स्थानमा प्याराग्लाइडिङको सफल परीक्षणसमेत भएकाले पर्यटकीय गन्तव्यको रुपमा प्रचुर सम्भावना भएको वडासदस्यसमेत रहनुभएको वन उपभोक्ता समितिका अध्यक्ष विक्रम चेपाङले बताए । ढुङ्गा उत्खननले प्याराग्लाइडिङलाई समेत असर पर्ने उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका