जोडिनुहोस
  • होमपेज
  • धुलिखेल र पनौतीका ६ सय परिवारलाई खानेपानी

धुलिखेल र पनौतीका ६ सय परिवारलाई खानेपानी

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको धुलिखेल र पनौती नगरका छ सय परिवारका लागि खानेपानी वितरण गरिएको छ ।

धुलिखेल–१० सुन्थानका तीन सय र पनौती–४ को चारमखर्कस्थित ज्यालाचिटी क्षेत्रका तीन सय परिवारका लागि खानेपानी वितरण गरिएको हो ।

बागमती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमार्फत विनियोजित रू १५ लाखबाट ज्यालाचिटी खानेपानी उपभोक्ता समितिले निर्माण गरेको ९२ हजार लिटर क्षमताको ट्याङ्कीबाट पानी वितरण गरिएको छ ।

‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत आयोजना सम्पन्न गर्न दुई सय १५ घरधुरीबाट रू पाँच हजारका दरले रकम सङ्कलन गरिएको समितिका अध्यक्ष दीपक थापाले जानकारी दिए ।

उनका अनुसार नयाँ ५७ सदस्यबाट रू नौ हजार पाँच सयका दरले रकम उठाइएको हो ।

चामखर्कमा रहेको मुहानको संरक्षण गरिनुका साथै दुई इञ्चको पाइपबाट ट्याङ्कीसम्म पानी ल्याइएपछि पानी पर्याप्त भएर यहाँका करिब तीन सय घरधुरी लाभान्वित भएका थापाले बताए ।

समितिमार्फत प्रत्येक घरधुरीमा खानेपानी वितरण गर्न नगर कार्यालयले १२ रोल पाइप, ४ नं वडा कार्यालयले नौ रोल पाइप सहयोग गरेको थियो ।

धुलिखेल–१० वडास्थित शारदा बतासेमा तीन सय घरपरिवारमा एक घर–एक धारा कार्यक्रमअन्तर्गत धारा जडान गरी पानी प्रयोगमा ल्याइएको शारदा बतासे उपभोक्ता समितिका अध्यक्ष गोविन्द शर्मा उपाध्यायले जानकारी दिए ।

उनका अनुसार बाँकी एक सय २५ परिवारका लागि चालु आर्थिक वर्षभित्रै धारा जडान गरी पानी पुराइने योजना छ ।

यसअघि निर्माण गरिएको एक लाख लिटरको ट्याङ्की र थप १० हजार लिटरको पानी ट्याङ्की निर्माण गरी डिपबोरिङमार्फत तीन सय परिवारका लागि खानेपानी व्यवस्थापन गरिएको उपाध्यायले जानकारी दिए ।

नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य तथा गरिबी निवारणलगायतका क्षेत्रमा ‘दिगो विकास लक्ष्य’अनुसारको मापदण्डमा पुग्न लागेकाले सबै वडाका बस्ती र घरमा चालु आवभित्र धारा पुराउने लक्ष्य राखिएको बताए ।

दक्षिण एशियामा धुलिखेल नगर गुणस्तरीय खानेपानी उपलब्ध गराउने नगरपालिकाभित्र पर्ने उनको भनाइ थियो ।

चालु आवमा प्रदेशअन्तर्गत रू एक अर्ब ४१ करोड २८ लाख ६० हजार रकम विभिन्न योजनामा विनियोजन गरिएको मन्त्री तीर्थ लामाले बताए ।

उनका अनुसार रू ४७ करोड ६३ लाख ६० हजार बराबरको खानेपानी, ऊर्जा तथा सिँचाइसम्बन्धी योजना समावेश भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका