Sun Jul 3 2022
देश

रामेछाप जिल्लाका ८ स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिद्वारा शपथग्रहण

रामेछापका ८ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले शुक्रबार शपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मन्थली नगरपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा जिल्लाका २ नगरपालिका र ६ वटा गाउँपालिका गरी आठ वटै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरूले शपथग्रहण गरेका हुन ।

मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टको उपस्थितिमा रामेछापका जिल्ला न्यायाधीश बद्रीप्रसाद ओलीले प्रमुख तथा अध्यक्षहरूलाई शपथ गराएका हुन । शपथ ग्रहण गराउँदै ओलीले दलका प्रतिनिधिले राम्रो काम गर्न नसक्दा दर र आफ्नो पनि भविष्य बरबाद हुने भएकोले त्यसलाई ध्यानमा राखेर काम गर्न जनप्रतिनिधिलाई सुझाव दिए ।

मुख्य निर्वाचन अधिकृत भट्टले जनप्रतिनिधि नमुना काम गरेको सुन्न र देख्न चाहेको बताए। कार्यक्रममा बोल्दै नवनिर्वाचित मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले सबै दलसँग समन्वय गरी विकासको काममा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

रामेछापका आठ वटा स्थानीय तह मध्ये नेकपा एमालेबाट मन्थली नगरपालिका प्रमुखमा लब श्रेष्ठ, उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार र खाँडादेवी गाउँपालिका अध्यक्षमा ज्ञानकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसबाट रामेछाप नगरपालिका प्रमुखमा लवश्री न्यौपाने, गोकुलगंगा गाउँपालिका अध्यक्षमा काजीबहादुर खड्का (दिनेश) र लिखु तामाकोसी गाउँपालिका अध्यक्षमा केशव महत निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट दोरम्बा शैलुङ गाउँपालिका अध्यक्षमा मैनकुमार मोक्तान र सुनापति गाउँपालिका अध्यक्षमा ठुलोकान्छा तामाङ निर्वाचित भएका छन् ।