Sun Jul 3 2022
मुख्य खबर

पदभार ग्रहणमा जनप्रतिनिधिका फरक शैली, देवताको घन्टी छुनेदेखि तलब, भत्ता नलिनेसम्मका घोषणा

नरेन्द्र महतारा- देशभरका अधिकांश स्थानीय तहहरुको मतपरिणाम सार्वजनिक भइसकेको छ । मतपरिणाम सार्वजनिक भएका नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

पद तथा गोपनीयताको पदभार ग्रहण गर्ने क्रममा निर्वाचित जनप्रतिनिधिहरुले जनताका माझ ५ वर्षे कार्यकालको मूख्य एजेण्डा र प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् ।

जाजरकोटको छेडागाड नगरपालिकाको प्रमुखमा निर्वाचित रत्नबहादुर खड्काले राज्यले दिने सेवा सुविधा नलिने घोषणा गरेका छन् । पदभार ग्रहण गरेलगत्तै राज्यबाट प्राप्त हुने तलब तथा भत्ताको सुविधा नलिने घोषणा गरेका हुन् ।

उनले आफूले प्राप्त गर्ने तलब भत्ताबाट कोष स्थापना गरी गरिब, अनाथ पिछडिएका र द्वन्द्वपीडित बालबालिकालाई सहयोग गर्ने बताएका छन् ।

यस्तै मुगु जिल्लाको छायानाथ रारा नगरपालकाका नवनिर्वाचित मेयर विष्णुकुमार भामले देउताको घण्टी नै छोएर पदभार ग्रहण गरेका छन् । उनले थार्पमष्टो, ऋणमोक्ष र छायानाथ ठाकुरीज्यूको घण्टी छोएर शुक्रबार पदभार ग्रहण गरेका हुन् ।

आफ्नो पाँचवर्षे कार्यकालमा सेवाग्राहीलाई दुःख–कष्ट नदिने, भ्रष्टाचार कमिशन नखाने भन्दै देवताको घण्टी नै छोएर पदभार ग्रहण गरेका हुन् । यति मात्र नभएर भामले जनताको नाममा आएको रकमप्रति नजर नलगाउने स्थानीयलाई सेवाप्रवाह छिटो छरितो गर्ने बाचा कसम खाएर प्रसिद्ध देवताका दुईवटा घण्टी पदभार संहालेका छन् ।

फरक फरक किसिमले विभिन्न स्थानीय तहमा जनप्रतिनिधिले आफ्नो ५ वर्षे कार्यकाल सकेसम्म जनता लक्षित राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कतिपय जनप्रतिनिधिहरुले स्थानीय तहहरुको विकासका लागि २४ सै घण्टा खटिने प्रतिवद्धता जनाएका छन् भने कतिपयले जनताको जीवनस्तर उकास्नका लागि आफूहरु निरन्तर खटिरहने घोषणा गरेका छन् ।

नवनिर्वाचित जनप्रतिनिधिले विजयको उत्सवका समयमा रोचक, जनता केन्द्रीत कार्यक्रमको प्रतिवद्धता व्यक्त गरे पनि के कति पुरा हुन्छन् त्यो हेर्न बाँकी नै छ ।