Sun Jul 3 2022
मुख्य खबर

शिर्ष नेताको वडामा दुर्गती, शिर्ष नेतालाई आफ्नै जनताले पत्याउनै छोडे

अमृत ढकाल- 
ओलीलाई दमकमा राम थापाले पराजित गरिदिएका छन । आफूले जस्तो देशमा कसैले काम नगरेको र गर्न पनि नसक्ने दाबी गर्दै आएका ओलीलाई उनकै गृहनगर झापामा धक्का लागेको छ ।

देशभर ७० प्रतिशत भन्दा धेरै पालिका जित्ने दाबी गरेका ओलीले आफ्नै गृह नगर जिताउन भने सकेनन् । न त ओलीले आफूले मतदान गरेको वडामा एमालेलाई विजय गराउन नै सफल भए ।

ओलीले भोट हालेको ठाउँ तथा उनको हालको निवास रहेको सूर्यविनायक वडा नम्बर २ मा कांग्रेसको प्यानलनै विजय भएको छ ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले एमालेलाई क्लीन स्वीप गर्ने भन्दै पाचँ दलिय सत्तागठबन्धनलाई तल्लो तहसम्म कायम राख्न नेता कार्यक्रतालाई निर्देशन दिएका थिए ।

देशभर कांग्रेस र गठबन्धनलाई विजय गराउने भन्दै देशशभर मत माग्दै हिँडेका देउवाले आफ्नै वडा अध्यक्षलाई जिताउन सकेनन । कांग्रेस सभापति देउवाको वडामा नेपाली कांग्रेसलाई हराउदै विपी कांग्रेस विजयी भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने माडी नगरपालिकाको मेयरमा नेकपा (एमाले) की ताराकुमारी काजी महतो निर्वाचित भएकी छिन ।

अर्थमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माको मुसिकोट ५ मा माओवादीले वडा सदस्यमात्र जितेको छ । नगरपालिकाको प्रमुखमा पनि नेपाली कांग्रेसका महेन्द्र केसीले नेकपा माओवादी केन्द्रमा उम्मेदवार वसन्तकुमार शर्मालाई पराजित गरेका छन ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई पनि गृहजिल्ला इलाममा, इलाम नगरपालिका–१ मा जनताले विश्वास गरेनन् । यहाँ नेकपा एकीकृत समाजवादीका सदस्यका उम्मेदवार पराजित भएका छन ।

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको गृहजिल्ला गोरखाको पालुङटारमा माओवादी केन्द्रले जितेको छ । प्रारम्भिक मतपरिणम अनुसार एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि बुटवलमा एमालेको विरासत जोगाउन नसक्ने देखिएको छ । विगतको तुलनामा यसपाली एमाले बुटवलमा निकै कमजोर बनेको चुनावी परिणामले स्पष्ट पारेको छ ।

एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको गृहनगर इलाम नगरपालिकामा पनि कांग्रेस विजयी भएको छ । अघिल्लो निर्वाचनमा एमालेले बहुसंख्यक वडासहित मेयर र उपमेयरमा जितेको भए पनि यसपालिको निर्वाचनमा भने एमालेले नराम्रो हार व्यहोरेकोछ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको गृहजिल्ला गोरखाको सिरानचोक गाउँपालिकामा ठूलो मतान्तरका साथ कांग्रेस उम्मेदवार विजयी भएका छन् ।
नेकपा एमाले उपमहासचिव प्रदिप ज्ञवालीको रुरु गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । एमालेका प्रमुख सचेतक विशाल भट्टराईको गृह जिल्ला खोटाङको खोटेहाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उदिमबहादुर राई निर्वाचित भएका छन् ।

एमालेका सचिव गोकर्ण विष्टको गृहजिल्ला गुल्मीको इस्मा गाउँपालिकामा एमाले पराजित भएको छ । एमाले सचिव योगेश भट्टराईको गृहजिल्ला ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एमाले पराजित भएको छ ।

७० करोडको भ्रष्टचारको अभियोगमा मन्त्रीपदबाट राजीनामा दिएका गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेको मण्डन देउपुर नगरपालिकामा एकीकृत समाजवादीले जितेको छ । संघीय निर्वाचनमा ७० हजार मत ल्याएर विजय हुन्छु भन्ने बाँस्कोटाले आफ्नै गृहपालीका जिताउन सकेका छनैन ।
स्याङजा क्षेत्र नं २ कि प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री समेत रहेकी एमाले सचिव पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदमै पराजित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१ मा पौडेल एमालेबाट खुला सदस्यको उम्मेदवार थिए । उनलाई कांग्रेसका सम्भव अर्यालले पराजित गरेका छन । वालिङको १ नं वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको गृह जिल्ला दार्चुलामा कांग्रेसले विरासत नै गुमाएको छ । पर्यटन मन्त्री तथा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेको गृहजिल्ला डोटीको जोरायल गाउँपालिकामा एमालेले जितेको छ ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको गृहजिल्ला गुल्मीको मदाने गाउँपालिका–४को वडाध्यक्षमा एकीकृत समाजवादी पराजित भएको छ ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको निर्वाचन क्षेत्र रहेको बुढानिलकण्ठ नगरपालिकामा बहुमत सहित एमालेले जितेको छ । विगत देखि नै एमाले र कांग्रेसको पकड क्षेत्र मानिदै आएको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन शाह अघि छन ।

आफ्नो पार्टी नै सबै भन्दा राम्रो र आफ्नो पार्टीले मात्रै सबै भन्दा राम्रो काम गर्ने भन्दै दशकौं देखि जनतालाई झुक्याउँदै आएका नेताहरुले यसपालिको निर्वाचनमा वडा स्तरमै सवक सिकाएका छन ।

अझै पनि दलहरु नसच्चिए सधै जनतालाई ढाँट्ने र छल्ने काम मात्रै गरे जनताले आगामी दिनमा नेताहरुको विकल्प खोज्ने प्रष्ट देखिएको छ ।