Sun Jul 3 2022
मुख्य खबर

वाणिज्य विभागको बजार अनुगमन, यस वर्षमात्र ५४ लाख बारबरको सामाग्री नष्ट

 प्रिन्स मिश्र- तपाई हामीले कुनै पनि सामान किनमेल गर्न जाँदा पसलबाट सोझै किनेर ल्याउछौ । अधिकांश उपभोक्तालाई त सामान वस्तुको म्याद छ छैन समेत थाहा हुदैन । पसले साहुजीकै विश्वास गर्छन् र सामान किनेर सरसर्ती घर फर्किने गर्छन् ।

यसैको आडमा पसलेले प्रतिबन्धित मात्रै बेच्दैनन् खुल्लमखुल्ला ठगी र मिलावट समेत गर्दै आएका छन् । अझ कतिपय साहुजीले त कालोबजारी र कृत्रिम अभावको धन्दानै बनाएका हुन्छन् ।

यस्ता गैरकानुनी हर्ताकर्तालाई रोक्न र उपभोक्ता अधिकारलाई सुनिच्छित बनाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बेलाबेलामा बजार अनुगमन गर्ने गरेको छ ।

गत वर्षको साउन यता आजसम्ममा विभागले २४ सय ३१ वटा फर्ममा अनुगमन गरेको छ । जसमा विभागले ५४ लाख ११ हजार ४ सय ४६ रुपैयाँ बराबरको खान अयोग र म्याद सकिएका वस्तु नष्ट गरेको छ । त्यस्तै विभागले सोही अवधिमा ११ सय ९ वटा फर्म वा संस्थालाई गरेर कुल १ करोड ३४ लाख ९६ हजार रकम जरीवाना गरेको छ ।

विभागले यस वर्ष वैशाख महिनामा मात्रै कुल ५६ हजार रकम बराबरको वस्तु नष्ट गरेको छ भने रु १६ लाख ३५ हजार रकम जरिवना सोरुप उठाएको विभागका सहप्रवक्ता धनेश्वर पौडेलले बताएका छन् । विभागको अनुगमनमा खाद्यान्न तथा किराना पसल, फार्मेसी पसललगायत कस्मेटिक पसलको लापरवाही बढी देखिएको छ ।

विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को व्यवस्था अनुसार बजारमा अनुगमनका क्रममा देखिने अवैद्यानिक क्रियाकलाप अनुसार विभिन्न दफाको प्रयोग गर्दै १ हजार देखि ३ लाख सम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ ।

बिल विजन नराखेको, विभागलाई असहयोग गरेको वा सामान्य छली गरेको खण्डमा विभागले १ देखि २० हजार सम्मको जरिवना तोक्ने गरेको छ भने, गम्भीर प्रवृतिको उपभोक्ता ठगी वा कालोबजारीको खण्डमा दफा १६ को २ (क) अनुसार ३ लाख सम्मको जरीवाना तोक्ने गरेको छ ।
यतिबेला बजारमा दैनिक उपभोग्य वस्तुको मुल्य आकाशिएको छ । त्यस्तै उपभोक्ता ठगी र कालोबजारीले समेत सर्वसाधारणहरु मर्कामा छन् । बजारमा व्यापारीले महँगी बढाउने कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्दै आएको उपभोक्ताहरुको गुनासो छ ।

यता विभागले भने आपूmहरु नियमित रुपमै बजार अनुगमनमा रहेको र आम उपभोक्ताको अधिकार सुनिश्चित गर्न र बजार स्वछ बनाउन लागि परिरहेको बताउँछन् ।

विभागले आपूmहरुले मात्र बजार स्वछ बनाउन नसक्ने हुँदा आम उपभोक्तालाई उजुरी वा सुचना सम्प्रेष्ण गर्न समेत अनुरोध गरेको छ । बजारलाई स्वच्छ बनाउन एकातिर विभागको नियमित अनुगमन जरुरी छ भने अर्कातिर उपभोक्ता समेत सचेत र उत्तरदायी बन्न आवश्यक छ ।