जोडिनुहोस
  • होमपेज
  • पाकिस्तान चुनाव लोकप्रिय इमरान र सेना समर्थित नवाजको प्रतिस्पर्धा

पाकिस्तान चुनाव लोकप्रिय इमरान र सेना समर्थित नवाजको प्रतिस्पर्धा

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जेलमा छन्, चुनावी प्रतिस्पर्धाबाट पनि बाहिर छन् । अर्का पूर्वप्रधानमन्त्री नवाज शरिफ लण्डनबाट स्वदेश फर्केर चुनावी अभियानमा जुटेका छन् । र, कतिपय राजनीतिक विश्लेषकहरुको दाबी छ कि अबको प्रधानमन्त्री शरिफ हुने लगभग पक्का छ । यसको फैसला ८ फेब्रुअरीमा हुने आम चुनावमा १२ करोड ८५ लाख मतदाताले गर्ने छन् ।

तर पाकिस्तानमा सत्तामा पुग्न मतदाताको भोट मात्र होइन शक्तिशाली सेनाको समर्थन पनि चाहिन्छ भन्ने मान्यता छ । सेनाले शरिफलाई सत्तामा विराजमान गराउन भरमग्दुर प्रयत्न गरिरहेको देखिन्छ । क्रिकेटरबाट नेता बनेका ७१ वर्षीय खान पनि सन् २०१८ मा अनौपचारिक रूपमा संस्थापन भनेर चिनिने सेनाको मौन समर्थनमा सत्तामा आएका थिए । आलोचकहरूले अक्सर खानलाई ‘सेनाको कठपुतली’ भने ।

तर सरकारमा रहँदा सुरक्षा क्षेत्रमा प्रमुख सुधार प्रयासमा ‘हस्तक्षेप’ गर्ने प्रयास गरेपछि खानको सैनिक जनरलहरूसँग मतभेद बढ्यो, अप्रिल २०२२ मा विश्वासको मत नपाएसँगै उनी प्रधानमन्त्रीबाट हट्न पुगे । सेनाका उच्च अधिकारीहरुलाई लागेको थियो कि प्रधानमन्त्रीबाट हटाएपछि खानको राजनीतिक करियर समाप्त हुन्छ । तर सत्ताबाट बाहिर आएसँगै सैन्य सत्ताको उनी प्रखर आलोचक बने । निर्वाचनको माग गर्दै निरन्तर प्रदर्शन गर्दै ठूलठूला भेला र सभा गरे । भीड जुटाउने अद्भूत क्षमता देखाउँदै आएका खानले सेनाप्रति नभएर नागरिकप्रति उत्तरदायी सरकार हुनुपर्ने भाषण गर्न थाले ।

पाकिस्तानमा कुल जनसंख्याको ६४ प्रतिशत ३० वर्षमुनि उमेर समूहका छन् । युवा जमात खानतिर आकर्षित भएसँगै सामाजिक सञ्जालमा उनका भाषण लाइभ गर्न प्रतिबन्ध लगाइयो । उनीमाथि गोली प्रहार भयो । उनले आफ्नो हत्या प्रयासमा आईएसआईका वरिष्ठ अधिकारी मेजर जनरल फेसल नसीरको हात रहेको दाबी गरे ।

आरोप पुष्टि गर्न उनले टिभी प्रस्तोता अर्शद शरीफको हत्या र नेता आजम खान स्वातीलाई दिएको यातनामा नसीरको संलग्नता पुष्टि गर्न प्रयास गरे । विवाद ९ मेमा उत्कर्षमा पुग्यो, जुन दिन उनी नाटकीय रुपमा गिरफ्तार भए । दंगादेखि आतंकवादसम्मका १८० भन्दा बढी आरोप लगाएर ९÷११ को जेलमा कोचियो । कथित सरकारी उपहार बेचेको आरोपमा ५ अगष्टमा भ्रष्टाचार मुद्दामा दोषी ठहर भए ।

त्यसयताका महिनाहरुमा खानको पाकिस्तान ताहरिक ए–इन्साफ ९पीटीआई० का हजारौं पक्राउ परेका छन् । लामो सोधपुछपछि उनको दलका दर्जनौं नेताले राजीनामा दिए, विरोधीहरुलाई सहज हुने गरी निर्वाचन क्षेत्र पुनर्र्संरचना गरिएको छ । त्यसका बाबजुद इमरानको लोकप्रियता कम भएन । निर्वाचनको एक महिना पहिला भएको एक सर्वेक्षणले ५७ प्रतिशत मतदाताले खानलाई रुचाएको देखाएको थियो, जबकी नवाज शरिफलाई ५२ प्रतिशतले मात्र रुचाएका छन् ।

सर्वेक्षणको नतिजा सार्वजनिक भएसँगै खानको दलबाट क्रिकेट ब्याट चुनाव चिह्न खोसिएको छ । १३ जनवरीमा पाकिस्तानको सर्वोच्च अदालतले पीटीआईको चुनाव चिह्न ब्याट नरहने फैसला गरेसँगै अब त्यस दलका उम्मेदवारहरुको चुनाव चिह्न फरक–फरक हुनेछ । साक्षरता दर करिव ६० प्रतिशत मात्र भएको पाकिस्तानको चुनाव पीटीआईका उम्मेदवारलाई सहज हुने छैन ।

स्वतन्त्र मनोनयन गर्न खोज्दा खान समर्थकको मनोनयन पत्र सुरक्षाकर्मीबाट च्यातिएका छन् । निर्वाचन अगावै व्यापक धाँधली गरेको भन्दै पीटीआईका प्रवक्ता रावफ हसनले भनेका छन्, ‘खान समर्थित ९० प्रतिशतभन्दा बढीको मनोनयन पत्र षड्यन्त्रपूर्वक अस्वीकार गरिएको छ । प्रस्तावक र समर्थक अपहरित भएका छन् ।’

तर इमरानले हार मानेका छैनन् । चुनाव चिह्न खोसिएपछि पनि इमरानले निर्वाचनमा उत्कृष्ट नतिजा निकाल्ने दाबी गरेका छन् । उनले भनेका छन्, ‘प्लान ए र बी असफल भएपनि पार्टी पंक्तिसँग प्लान सी बाँकी छ । निर्वाचनमा हामी आश्चर्यजनक परिणाम निकाल्ने छौं ।’

उनले प्लान सीबारे बताएका छैनन् । केही विश्लेषकका अनुसार अझै पनि इमरान खानलाई सेनाको एउटा हिस्साको समर्थन छ । यद्यपि उनी धेरै मोर्चामा कमजोर छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका