Sun Jun 26 2022
अन्तर्राष्ट्रिय

युक्रेनलाई थप अत्याधुनिक हातहतियार आपूर्ति हुने

वासिंगटन । विश्वका ५० रक्षा नेताहरुको भेलाले युक्रेनलार्ई थप अत्याधुनिक हातहतियार पठाउने सहमति जनाएका छन् । अमेरिकाको वासिंगटनमा भएको सोमबार भएको उक्त बैठकमा अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनलाई आफ्नो समुद्री तट रक्षाका लागि हार्पुन लन्चर, क्षेप्यास्त्रलगायत  हतियार उपलब्ध गराइन लागेको पत्रकारहरूलाई बताएका छन् ।

त्यसैगरी अमेरिकी संयुक्त सेना प्रमुखका अध्यक्ष जनरल मार्क मिल्लीले अमेरिकाले युक्रेनी फौजलाई कसरी तालिमका लागि व्यवस्था गर्न सकिन्छ र केही अमेरिकी फौज युक्रेनमा तैनाथ गर्ने हो कि भन्नेबारे छलफल चलिरहेको जानकारी दिएका छन् ।

रुसले गत २४ फ्रेब्रुअरीमा आक्रमण गर्नुअघि अमेरिकाले युक्रेनमा रहेका आफ्ना थोरै फौजलाई स्वदेश फिर्ता बोलाएको थियो । तिनीहरूलाई पुन त्यहाँ युद्धमा फिर्ता पठाउन अहिलेसम्म अमेरिकाले कुनै योजना अघि सारेको छैन ।
तर, अहिले मिल्लीको टिप्पणीबाट अमेरिकी फौज दूतावासको सुरक्षा वा गैरयुद्धको भूमिकामा युक्रन फर्कने सम्भावना रहेको संकेत दिएको छ ।

अमेरिकाले अहिले युक्रेनको राजधानी किभमा आंशिक रुपमा खोलेको दूतावासमा पुनः कर्मचारीहरूको संख्या बढाउँदैछ । तर, दूतावासको सुरक्षाका लागि अमेरिकाले आफ्नो फौज त्यहाँ पठाउला वा अन्य कुनै उपाय अपनाउला भन्ने प्रश्नहरू उठिरहेका छन् ।

मिल्लीले युक्रेनमा पुनः फौज पठाउनका लागि राष्ट्रपति जो बाइडेनको निर्णयको आवश्यकता हुने बताएका छन् । साथै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका पत्रकारहरूसँग कुरा गर्दै अस्टिनले युक्रेनले अनुरोध गरे बमोजिम उच्च प्रविधिको मोवाइल रकेट लन्चर पठाइन्छ कि पठाइन्न भन्नेबारे बताउन अस्वीकार गरेका छन् ।

तर, अस्टिनले विश्वका करिव २० वटा मुलुक युक्रेनलाई सुरक्षा सहयोगको नयाँ प्याकेज पठाउन तयार भएको घोषणा गरेका छन् । अहिले रुस र युक्रेनबीचको युद्ध तेस्रो महिनामा प्रवेश गरिसकेको छ ।

साथै उनले डेनमार्क युक्रेनलाई हार्पुन  लन्चर र क्षेप्यास्त्रहरु पठाउन तयार भएको पनि बताएका छन् । रुसले ब्ल्याक सीमा तैनाथ गरिएका युद्धपोतहरूबाट युक्रेनमा क्रुज क्षेप्यास्त्रहरू प्रहार गर्दै आएको छ । एपी