Tue Jun 28 2022
मुख्य खबर

नागरिकको चासो र प्राथमिकतामा परेन बुस्टर डोज

मेनुका लम्साल- दुई वर्षअघि चीनको एक शहरमा उब्जिएको कोरोना भाइरसका संक्रमणले केही समय विश्व नै आतकिंत बनेको थियो । जसबाट बच्नका लागि विभिन्न खोपहरुको प्रयास गरिएको थियो ।

कोरोनाकै कारण विश्वभरमा थुपै नागरिकले ज्यान समेत गुमाएका छन भने अझै थुपै नागरिक संक्रमित छन । कोरोनाबाट बच्न नेपाल सरकारले पनि विभिन्न मुलुकबाट पहिलो मात्रा, दोस्रो मात्रा तथा थप मात्रा खोपको व्यवस्था गरेको छ । तर सरकारले कोरोना संक्रमणबाट बच्नको लागि कोरोनाविरुद्धको थप मात्राको खोपको व्यवस्था गरे पनि त्यसप्रति नागरिकको चासो कम देखिएको छ ।

कोरोनाको जोखिम कम गर्न खोपको थप मात्रा बुस्टर डोजको व्यवस्थापन गरे पनि दोस्रो मात्रा खोप लगाएका धेरै नागरिकले तेस्रो मात्रा खोप लगाएका छैनन् । अहिले कोरोनाको जोखिम केहि कम भएकोले चासो नगएको हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिले कोरोनाको संक्रमण केही भएपनि पूर्ण रुपले समाप्त नभएको हुँदा स्वस्थ्य मापदण्डको पालना गर्नुपर्ने अधिकारीहरुले बताएका छन । पछिल्लो समय विभिन्न स्थानमा हुने गरेको भिडभाडमा स्वास्थ्य मापदण्ड अपनाएर मात्र जानुपर्ने उनीहरुले बताएका छन् । यससँगै खोपको पूर्णमात्रा लगाउन पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

यसरी स्वास्थ्यप्रति नागरिक स्वयम जिम्मेवार नहुँदा कोरोनासँगै विभिन्न संक्रमणको जोखिममा नागरिक पर्नसक्ने देखिन्छ । त्यसर्थ आफ्नो स्वास्थ्यप्रति नागरिक आफै जिम्मेवार बन्न जरुरी छ ।