जोडिनुहोस
  • होमपेज
  • डा. ह्यारीको कंग्रेसमेनमा उम्मेदवारी घोषणा

डा. ह्यारीको कंग्रेसमेनमा उम्मेदवारी घोषणा

वाशिङ्गटन डिसी । मेरिल्याण्ड राज्यमा नेपाली मूलका पहिलो डेलिगेट डा। ह्यारी भण्डारीले अमेरिकी सङ्घीय संसद्को तल्लो सदन कंग्रेसमा डिष्ट्रिक २ बाट उम्मेदवारीको घोषणा गरेका छन् ।

उनको उम्मेदवारीले सोमबारबाट औपचारिक रुपमा प्रवेश समेत गरेको छ । भण्डारीले डेमोक्र्याट पार्टीका तर्फबाट आगामी मे १४ मा हुने प्रारम्भिक निर्वाचनका लागि चुनावी अभियान घोषणा गरेको बताए । अमेरिकाको मूलधारको राजनीतिमा विगत एक दशकदेखि सक्रिय रहेका डा. ह्यारी भण्डारीले आफ्नो राजनीतिक यात्रालाई सङ्घीय इकाईतर्फ अगाडि बढाएका हुन् ।

कंग्रेसमेनको रुपमा उम्मेदवारी घोषणा गरेका भण्डारीले पार्टीको आन्तरिक प्रतिस्पर्धामा हुने उक्त निर्वाचनमा विजयी भएको खण्डमा आगामी नोभेम्बरमा हुने चुनावमा डेमोक्र्याट पार्टीको तर्फबाट उमेदवार हुन पाउने छन् ।

यस पटक मेरिल्याण्ड राज्यमा दुई जना कंग्रेसमेनले निर्वाचन नलड्ने घोषणा गरेकाले यसलाई खुला सिटको रुपमा लिइएको छ । ह्यारीले उम्मेदवारी दिन लागेको स्थान उनले डेलिगेटमा दुई पटक विजयी भइसकेको स्थानमा पर्दछ । तसर्थ ह्यारी यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि समेत भएका छन् । तर डेमोक्र्याट पार्टीभित्रका हस्ती समेत निर्वाचनमा होमिएकाले ह्यारीले निर्वाचनमा कडा प्रतिस्पर्धाको सामना भने गर्नुपर्ने छ ।

त्यसको साथमा ह्यारीले निर्वाचनको दौरानमा के कति रकम सङ्कलन गर्न सक्ने छन् भन्ने विषय पनि पेचिलो रहने छ । ‘टिचर फर कंग्रेसमेन’ भन्ने नारा तय गरिएको ह्यारीको चुनावी अभियान करिब एक सय दिनसम्म चल्नेछ । नेपाली समुदायको आपत् विपत्मा सदैव अग्रपंक्तिमा रहेर समुदायको हितमा अहोरात्र खटिने ह्यारीले संक्षिप्त प्रतिक्रिया दिँदै भन्, ‘विगतमा जस्तै नेपाली अमेरिकनको सहयोग र सद्भाव प्राप्त गर्नेमा म विश्वस्त छु ।’

डेलिगेटका रुपमा नेपाली अमेरिकनका आप्रवासनसम्बन्धी विषयमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् । कोरोनाकालमा बेरोजगार फारम भर्नेदेखि कोरोना पीडितको उपचारमा समेत ह्यारीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कोराना महामारीको बेलामा दिवङ्गत भएका नेपालीको शव व्यवस्थापनमा ह्यारी र उनको टोलीले भूमिका निर्वाह गरेको थियो । ह्यारीले नेपालीहरुको सांस्कृतिक पहिचान दिलाउने उद्देश्यले ल्याएको दसैँ बिल मेरिल्याण्ड जनरल एसेम्बलीले पारित गरेर गत अक्टोवर ५ तारिखलाई दसैँ डे भनेर समेत मनाउन थालिएको छ ।

नेपालको पर्वत जिल्लाको ग्रामीण परिवेशमा जन्मिएर अमेरिकाको मूलधारको राजनीतिमा आफूलाई खरो रुपमा उभ्याएका ह्यारीले समुदायको सेवा आफ्नो प्राथमिकतामा सदैव पर्ने बताउँदै आएका छन् । नेपाली मूलका व्यक्तिले अहिलेसम्म सङ्घीय निर्वाचनमा जित हासिल गर्न सकेका छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका