Sun Jul 3 2022
Breaking News

रविन्द्र मिश्र इमान्दार कि मुर्ख ?

अमृत ढकाल- स्थानिय तह निर्वाचनमा विवेकशील सझा पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेपछि नैतिकताका आधारमा रविन्द्र मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएको विषयले यतीबेला चर्चा पाएको छ ।

एकथरीले मिश्रको राजीनामाले नेपाली राजनीतिमा लोकतान्त्रिक संस्कार बसालेको तर्क गरेका छन् । अर्काथरीले भने मिश्रको राजीनामाको कुनै अर्थ नभएको प्रतिक्रिया दिएका छन् ।

नेपाली राजनीतिमा इमान्दारीता र नैतिकताको महत्व हराउँदै गएका बेला विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्रको राजीनामाले एउटा आशाको दियो बालेको छ । स्थानीय तहको निर्वाचनमा पार्टीले लज्जास्पद हार व्यहोरेपछि मिश्रले पार्टी भित्र प्रश्न उठ्नु अगावै नैतिकताका आधारमा अध्यक्ष पदबाट राजीनामा दिएको विषय यतीबेला चर्चामा छ ।
त्यसो त तत्कालिन नेकपा एमालेका महासचिव माधवकुमार नेपालले पनि २०६४ सालको निर्वाचनमा एमालेले अपेक्षित परिणाम ल्याउन नसकेको भन्दै नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए ।

त्यसबाहेक अन्य ठूला दलका नेताले चुनावमा पार्टीेले लज्जास्पद हार व्यहोर्दा नैतिकताको आधारमा राजीनामा दिएको खासै पाइँदैन । यदी ठूला दलका नेताहरुले पनि चुनावमा पार्टीले हार व्यहोर्दा नैतिकताका आधारमा राजीनामा दिन्थे भने २०७० को निर्वाचन पछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, २०७४ को निर्वाचन पछि कांग्रेस सभापती देउवा र यसपालीको निर्वाचन बाट एमाले अध्यक्ष ओलीले समेत राजीनामा दिइसकेका हुन्थे ।

आफू नै जान्ने र आफू नै सर्वमान्य मानसिकता बोकेका नेताहरुले आफ्नो नेतृत्व असफल र आफूबाट कम्जोरी भएका कारण पार्टीले हार व्यहोरेको स्वीकार्दै राजीनामा दिनु भन्दा विरोधीलाई आरोप लाएर पन्छिन खोज्ने गर्छन् ।

साना र वैकल्पीक दलले मिश्रको राजीनामालाई सकारात्मक रुपले लिएपनि ठूला दलका नेताले भने मिश्रको राजीनामालाई व्यङय गरेका छन् । ठूला दलका नेताले चुनाव हार्दैमा राजीनामा दिनु भन्दा पनि पदमै बसेर अर्का निर्वाचनमा पार्टीलाई जिताउन लाग्नु गर्ने प्रतिक्रिया दिएका छन् ।
ठूला दलका नेताहरुले मिश्रले राजीनामा दिने कमद गलत भएको प्रतिक्रिया दिएपनि जानकारहरुले भने आफूले नेतृत्व गरेको पार्टीले निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसक्दा पदबाट राजीनामा दिने कुरा साचिँकै स्वागत्योग्य भएको बताएका छन् ।

राजनीतिलाई नजिकबाट नियाल्नेहरुले मिश्रको कदम लोकतान्त्रिक संस्कार भएको बताएका छन् ।

निर्वाचनमा पार्टीले हार व्यहोरे पछि नेतृत्वले नैतिकताका आधारमा राजीनामा दिनुले कति अर्थ लाग्छ ? त्यसको दलहरुको आ—आफ्नै धारणा रहेको छ । मित्र राष्ट्रका नेताहरुले पनि चुनावमा पार्टीले हार व्यहोरेपछि नैतिकताका आधारमा पदबाट राजीनामा दिने प्रचलन बढ्दो क्रममा छ । तर हाम्रो देशमा भने नेताहरुले आफ्नो कमजोरी स्वीकार्न नसकेकै कारण दशकौं एउटै नेतृत्वको मात्रै हावी हुने गरेको छ ।