Sun Jul 3 2022
अन्तर्वार्ता

स्वदेशी वस्तुको प्रयोग सरकारबाटै सुरु गर्दैछौँः अर्थमन्त्री शर्मा

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी वस्तुको प्रयोग सरकारबाटै सुरु गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकता दिइएको बताएका छन्।

बजेटबारे अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। अर्थमन्त्री शर्माले भने, ‘अब सरकारले स्वदेशी बस्तु नै प्रयोग गर्नुपर्छ। बिस्कुट त चाहियो तर त्यो पनि स्वदेशी आओस्। सेनिटाइजर स्वदेशी आओस्। मास्क पनि स्वदेशी आओस्। सुरु कसले गर्ने त? पहिला सरकारले गर्नुपर्‍यो। सरकारमा बस्ने पहिले हामीले नै सुरु गर्नुपर्‍यो। त्यसो गर्ने प्रतिवद्धता हामीले गरेको छौँ। र, हामीसँग धागो कारखाना छ। कपडा उद्योग छ। प्राइभेट धागो कारखाना छ। तिनलाई पनि सहुलियत दिँदैछौँ। तिनलाई हामी सुविधा दिँदैछौँ। बिजुलीमा सुविधा दिन्छौँ हामी। निर्यात गर्दा नगद इन्सेन्टिभ दिन्छौँ। त्यसबाट हामी उनीहरुलाई उत्साहित गर्न खोजिराखेका छौँ। टायर उद्योग, रबर उद्योग त्यत्तिकै छ। त्यसलाई बेच्नुपर्ने अवस्था छ।’