जोडिनुहोस
  • होमपेज
  • पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप कति सुरक्षित ?

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप कति सुरक्षित ?

नेपालमा पछिल्लो पटक पाठेघरको मुखको क्यान्सर बढ्दो क्रममा छ । सरकारी तथ्याङ्क अनुसार पाठेघरको मुखको क्यान्सरका बिरामी २१ देखि २२ सय जना वार्षिक रूपमा फेला पर्छन् । पाठेघरको मुखको क्यान्सरलाई न्यूनीकरण गर्नका लागि सरकारले हालै मात्र १४ देखि १५ वर्ष उमेरका किशोरीलाई एचपिभी खोप लगाएको छ । तर पछिल्लो समय भारतीय मोडेल पुनम पाण्डेले पाठेघरको मुखको क्यान्सरको कारण आफ्नो निधन भएको हल्ला फैलाएर सो खोपको विज्ञापन गरेसँगै ‘यो खोप कतिको सुरक्षित छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ ।

खोप नलगाएकालाई पाठेघरको मुखको क्यान्सर भएमा जटिल समस्या हुने तर खोप लगाएमा सुरक्षित हुने चिकित्सकले दाबी गरेका छन् । यो खोप शारीरिक सम्बन्धमा संलग्न हुनु अगावै नै लगाएमा प्रभावकारी हुने चिकित्सकको भनाई छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार शारीरिक सम्बन्धमा संलग्न हुनु अगावै खोप लगाएमा बढी प्रभावकारी हुने जिकिर गरे । त्यसैले पहिलो चरणमा १४ देखि १५ वर्ष उमेर समूहलाई एचपीभी खोप लगाउन सुरु गरिएको उल्लेख गरे । ‘खोप नलगाए शतप्रतिशत क्यान्सरको जोखिम रहन्छ,’ उनले भने, ‘खोप लगाइसकेपछि तपाईंको व्यवहारमा पनि भरपर्छ । यो लगभग ९७ देखि ९८ प्रतिशत सुरक्षित छ । सानै उमेरमा शारीरिक सम्बन्धमा संलग्न भइसक्नु भएको छ र धेरै व्यक्तिसँग सम्बन्ध बनाउनुहुन्छ भने प्रभावकारिता घट्दै जान्छ । ’

पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप विभिन्न विकसित मुलुकको नियमक निकायले प्रमाणित गरी प्रयोगको लागि स्वीकृति गरेको र विश्व स्वास्थ्य संगठन डब्लुएचओले पनि एचपीभी खोप प्रभावकारी रहेको प्रमाणित गरेको परिवार कल्याण महाशाखा प्रमुखका डा विवेक कुमार लालले बताए । ‘यो एकदमै सुरक्षित र अत्यन्तै प्रभावकारी पनि छ । कुनै पनि खोपको कुरा गर्दा खेरी हामीले के बुझ्नुपर्छ भने कसैले नयाँ अविकार गरेर ल्याएर सिधै मान्छेमा लगाउने भन्ने हुँदैन,’ उनले भने, ‘खोपहरूको दशकौँ अनुसन्धान र विकासको प्रक्रिया हुन्छ । विभिन्न चरणमा क्लिनिकल ट्रायल भनिन्छ । त्यो पूरा गरेर सुरक्षित रहेको, प्रभावकारी रहेको प्रमाणित भइसकेपछि बल्ल खोप प्रयोगमा ल्याइन्छ । विभिन्न विकसित मुलुकको नियामक निकायले सुरक्षित रहेको प्रमाणित गर्नकासाथै प्रयोगको लागि यो खोपलाई स्वीकृत गरेको छ । विश्व स्वास्थ्य संगठनले पनि एचपीभी खोप अत्यन्तै प्रभावकारी रहेको प्रमाणित गरेको छ । त्यसकारण यो खोपमा कुनै शङ्का गर्नुपर्ने विषय छैन ।’

पछिल्लो समय महिलामा हुने क्यान्सरमध्ये सबैभन्दा घातक पाठेघरको मुखको क्यान्सर बनेको छ । हाल दैनिक ६ जना महिला पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले बताए । उनका अनुसार पाठेघरको मुखको क्यान्सर गराउने ह्युमनपापिलोमा भाइरस हो ।

यो भाइरस आएको धेरै समय भएपनि जोखिम न्यूनीकरण गर्ने खोप २००६ तिर मात्रै पत्ता लगाइएको सुनाए । उनले भने, ‘यो भ्याक्सिन २००६ देखि लगाउन सुरु गरिएको थियो । तर डरका कारण मान्छेले लगाउन सुरु नै गरेनन् । अहिले भने लगभग ९० देखि ९६ मुलुकले राष्ट्रिय खोप आभियनमै राखेका छन्, ह्युमनपापिलोमा भाइरसविरुद्ध एचपीभी खोप एकदम सुरक्षित छ ।’

डा शाहीका अनुसार पाठेघरको मुखको क्यान्सर गराउने ९९ प्रतिशत कारण ह्युमनपापिलोमा भाइरस हो । त्यसैले यस विरुद्धको खोप लगाइयो भने ९९ प्रतिशत नै यसको जोखिमबाट बच्न सकिने उल्लेख गरे ।

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप भारतबाट आउने गरेको सरकारी निकायको भनाई छ । बेलायता, अमेरिकाको ट्रेडमार्क रहेपनि खोप भने भारतमा उत्पादन हुने गरेको छ । बेलायत, अमेरिकाले भारतसँग समन्वय गरेर एचपीभी खोप भारतमै उत्पादन हुने सोही ठाउँबाट नेपाल ल्याइने प्रवक्ता बुढाथोकीले बताए । महाशाखाका प्रमुख डा विवेक कुमार लालले हाल ग्लोबल भ्याक्सिन एलायन्स गाभी ले सहयोग गरेको बताए । पाठेघरको मुखको क्यान्सर विरुद्ध खोपका लागि पनि गाभीसँग सहकार्य गरेको लालको भनाई छ ।

कुन–कुन क्षेत्रमा लगाइएको छ खोप ?
पहिलो चरणमा एचपीभी खोप सातवटै प्रदेशमा सञ्चालन गरिएको थियो । पहिलो चरणमा १४ देखि १५ वर्ष उमेरका किशोरी खोप लगाएको छ । दोस्रो चरणको खोप लगाउने तयारी भइरहेको महाशाखाका प्रमुख डा विवेक कुमार लालले बताए । ‘खोप प्राप्त हुने अनौपचारिक जनकारी आएको छ । के कति मात्रामा भन्ने निर्क्योल भएको छैन,’ उनले भने ।

एचपीभी खोपलाई राष्ट्रिय खोप अभियानमा समावेश गर्ने तयारी
खोप धेरै ल्याउन नसकिएकाले पहिलो चरणमा १४ देखि १५ वर्ष उमेर समूहका किशोरीलाई मात्रै खोप लगाएको छ । अब भने सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोपलाई राष्ट्रिय खोप अभियानमा समावेश गरी देशव्यापी रूपमा सञ्चालन गर्ने तयारी गरिरहेको छ । यो खोप ९ देखि २६ वर्ष उमेरकालाई लगाइने उनीहरूले बताएका छन् । जसका लागि खोप ल्याउने पहल भइरहेको जनाएका छन् ।

पाठेघरको मुखको क्यान्सर लक्षण र उपचार
नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा पर्दछ । क्यान्सर विशेषज्ञ डा शाहीका अनुसार धेरै जनासँग असुरक्षित यौन सम्पर्क गर्नु, कम उमेरमा बिहे वा सानैदेखि यौन सम्पर्क हुनु, कम उमेरमा बच्चा जन्माउनु, धेरै बच्चा जन्माउनु, पटकपटक गर्भपतन गराउनु, धूम्रपान गर्नु, लगायत कारणले यो समस्या हुने गर्दछ ।

यौन सम्पर्क गर्दा रगत देखिनु, योनीबाट अनियमित रगत बग्नु, सेतो गन्हाउने पानी आउनु, तल्लो पेट दुखिरहनु पाठेघरको मुखको क्यान्सरका मुख्य लक्षणहरू रहेको डा शाहीले बताएका छन् । यस्तै, दिसापिसाब गर्दा अप्ठ्यारो हुनु, ढाड दुख्नु, बढी थकाइ लागु, तौल घट्दै जानु लगायत लक्षण पनि देखिने उनले उल्लेख गरे ।

३० वर्ष माथिका सबै महिलाहरूले नियमित पाठेघरको मुखको परीक्षण गराउनु पर्दछ । सरकारी स्वास्थ्य संस्थामा भीआइए विधिबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण निःशुल्क रहेको सरकारी निकायले जनाएको छ । शारीरिक सम्बन्धमा संलग्न हुनु अगावै पाठेघरको मुखको क्यान्सरको हुनुबाट जोगिन सक्ने चिकित्सकले बताएका छन् । प्रारम्भिक चरणमै रोग पहिचान भएमा उपचार सहज हुने उनीहरूले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका