Wed Aug 17 2022
मुख्य खबर

रैथाने खेती हराउँदै, विषादीको प्रयोग बढ्दै

म्याग्दी । तीन दशकदेखि म्याग्दीको बेनी नगरपालिका -२ खबरामा व्यावसायिक तरकारी र फलफूल खेती गर्दै आएका ५८ वर्षीय चन्द्रबहादुर कार्की आफ्नो खेतीबारीमा फलेका तरकारी र रैथाने जातका खाद्यान्न देखेर दङ्ग पर्थे ।

कुनै पनि विषादी र भिटामिनको प्रयोग नगरिकन खेतबारीमा लटरम्मै भएर फलेका तरकारी, फलफूल, हिउँदे र बर्खे बाली बिक्री गरेर लभ्लीहिलमा तीनतले पक्कीघर र सदरमुकाम बेनी बजारको मङ्गलाघाट घरघडेरी जोड्न सफल कार्की अहिले भने कृषि पेसाबाट वितृष्णा जागेको बताउँछन् । जिल्लाकै अगुवा कृषक कार्कीलाई कृषिमा वितृष्णा त्यत्तिकै आएको होइन । प्राङ्गारिक तरकारी मात्रै फलाउने र बिक्री गर्ने कार्कीले ‘इमानदार कृषक’ को पहिचानमा नै विषादीको दाग लाग्न थालेपछि कृषि पेसाप्रति वितृष्णा जागेको हो ।

जलवायु परिवर्तनका कारण माटोको उर्बरा शक्तिमा ह्रास आउँदै गएपछि प्राङ्गारिक रैथाने कृषि उत्पादन अब तीव्ररुपमा घट्दै गएको र विषादीको प्रयोग गरेर खेती गर्न आफ्नो मनले नमानेको हुँदा वर्षौंदेखि गर्दै आएको ‘खेती गरौँ की छोडौँ’ को स्थितिमा पुगेको उनले बताए ।

‘मैले सुरुदेखि नै प्राङ्गारिक रैथाने जातका खेतीलाई महत्व दिएँ, यहीँ माटोमा पसिना बगाएर पुग्दो सम्पत्ति पनि जोडें’, कार्कीले भने, ‘विगत पाँचरछ वर्षयता माटोमा अम्लियपना बढ्दै गयो, रैथाने विऊबाट फसल उत्पादन घट्दै जान थाल्यो, विषादीको प्रयोग नगर्ने हो भने रोग र किराको समस्याले सताउन थाल्यो’, उनले भने ।

‘अचेल त विष प्रयोग नगरी तरकारी फल्दैन, बाली पाक्दैन । प्रत्येकको घरको भान्सामा विष मिसिएको तरकारी नपकाइ सुक्खै छैन’, कार्कीले भने । कृषिमा जलवायु परिवर्तनले पारेको असरका कारण यस्तो समस्या उत्पन्न भएको अगुवा कृषक कार्कीको बुझाइ छ । कृषक कार्कीको बुझाइसँग कृषि विज्ञहरु पनि सहमत छन् ।

उनीहरुका अनुसार कृषिमा निर्भर नेपालको आर्थिक प्रणाली प्रभावित हुने गरी जलवायु परिवर्तनको असर देखिन थालेको छ । फलफूल ढिलो पाक्न थालेका छन्, वातावरणीय सन्तुलन बिग्रँदै जान थालेको र रैथाने जातका बीउ अभाव हुँदा खाद्य सुरक्षामै प्रश्न उठ्न थालेको कृषि विज्ञहरुले बताएका छन् ।

कृषि वैज्ञानिक टीकाबहादुर कार्कीका अनुसार जलवायु परिवर्तनका कारण यस्ता समस्या म्याग्दीमा मात्रै होइन जताततै देखिन थालेका छन् । कृषि वैज्ञानिक कार्की भन्छन्, ‘जलवायु परिवर्तनका कारण रैथाने जातको उत्पादन कम हुँदै जान थालेका छन् । कतिपय स्थानीय जातका बीउ त लोप पनि भइसकेका छन् ।’

जलवायु परिवर्तनले रैथाने जातका बीउ हराउने मात्रै होइन कृषि प्रणालीका हरेक पक्षमा नकारात्मक प्रभाव परिरहेको उनको भनाइ छ । परिवर्तित जलवायु सुहाउँदो खेती गर्ने प्रयास नगरिँदा यसले नेपालको खाद्य सुरक्षामा नै दीर्घकालीन प्रभाव पारिरहेको कृषि विज्ञहरुको भनाइ रहेको छ ।

किसानका अनुसार सुन्तला, आँपलगायतका फलफूलमा कोपिला लाग्ने, फूल फुल्ने र फल पाक्ने समय पनि परिवर्तन भएको छ । सुन्तला मङ्सिरमा पाक्न थालेको छ । पहिला पहिला माघमा कोपिला लागेर फागुनमा आँपको फूल फुल्थ्यो भने अहिले आँपको फूल कि त चैत कि त वैशाखमा फुल्न थालेको कृषकले बताएका छन् ।

नेपालका प्रायः सबै किसान प्राकृतिक हावापानीमा नै भर पर्ने हुनाले कृषिमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव पर्न थालेको कृषि प्राविधिक जगत बानियाँले बताए । त्यस्तै अनपेक्षितरूपमा कम वा बढी वर्षा हुँदा सिमी, आलु, करेला, भिन्डी, काँक्रो, बोडी र घिरौंला जस्ता तरकारीको गुणस्तर र रङ र स्वाद पनि बदलिएको कृषकको भनाइ छ । हिउँदमा खेती गर्ने काउली र बन्दाजस्ता तरकारीका फलको आकार पछिल्लो वर्ष सानोभन्दा सानो हुँदै गइरहेको बेनी नगरपालिका(२ सानालेकका कृषक ध्रुव थापाले बताए ।

बालीनालीमा मात्रै होइन पशुलाई खुवाउने घाँसमा पनि औषधि हाल्नुपरेको किसानको गुनासो छ । ‘घाँसमा पनि विषादी नहाल्ने हो भने बोट मर्ने र छिटो ओइलाउने हुन थाल्यो, मैले त घाँसमा पनि विषादीको प्रयोग गर्ने गरेको छु’, कृषक तीर्थ सापकोटाले भने । कृषि प्राविधिकका अनुसार जलवायु परिवर्तनका कारण मान्छेको खाद्यान्नमा झैँ पशुले खाने घाँसको पनि पोषण र गुणस्तरमा प्रभाव पर्नु सामान्य हो । घाँसमा विषादीको प्रयोग गर्दा दूधदेखि मासुसम्मका पशुजन्य उत्पादनमा असर पर्ने कृषि प्राविधिक बताउँछन् ।