Sun Dec 4 2022
अन्तर्राष्ट्रिय

भारतीय मन्त्रीले गरे रक्सौलमा भव्य प्रयोगशालाको उद्घाटन

भारत सरकारका माननीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्री डा. मनसुख मण्डावियाले आइतबार रक्सौल बिहारमा राष्ट्रिय खाद्य प्रयोगशालाको उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको पनि उपस्थिति थियो ।

रक्सौलमा अवस्थित र भारतीय खाद्य संरक्षा एवम् मानक प्राधिकरणद्वारा स्थापित राष्ट्रिय खाद्य प्रयोगशाला भारत प्रवेश गर्ने खाद्यान्न नमुनाहरुको परीक्षण गर्न उन्नत सुविधा र पूर्वाधारहरुले सुसज्जित आधुनिक प्रयोगशाला रहेको डा. मण्डावियाले बताएका छन् । यस प्रयोगशालाले नेपालको खाद्यान्न र कृषि निर्यातको नमुना परीक्षणमा लाग्ने समयको बचत गरी भारत र नेपालबीचको द्विपक्षीय व्यापार बढाउन सहयोग गर्नेमा उनले विश्वास व्यक्त गरे । हाल यी नमुनाहरुको परीक्षणकालागि दिल्ली वा कोलकाता पठाउनुपर्ने बाध्यता थियो ।

लामो समयदेखि नेपाली व्यापारीहरुले रक्सौलमा स्तरोन्नत खाद्य प्रयोगशालाको निर्माणका लागि अनुरोध गर्दै आएकोमा अहिले सो पूरा भएको भन्दै नेपाल सरकारका कृषि मन्त्री यादवले यसको प्रशंसा गरेका छन् । यस खाद्य प्रयोगशालाको निर्माण “छिमेकी पहिलो” नीति अनुरुप नेपालसँग कनेक्टिभिटी, व्यापार तथा सीमा पूर्वाधार सुधार गर्ने भारतीय प्रतिबद्घताको अर्को प्रतिबिम्बको रुपमा रहेको छ ।