Sun Jun 26 2022
आर्थिक

श्वेत गंगा हाइड्रोपावरको आईपीओ खुल्ला

सोमबारदेखि श्वेत गंगा हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) बिक्री खुल्ला भएको छ । कम्पनीले जेठ २३ गते सोमबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई जारी पुँजीको १० प्रतिशत अर्थात १५ लाख ९३ कित्ता सेयर निष्कासन गरेको हो ।

जसमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नं २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको वडा नं ४, ५, ६, ७, ८ र ९ वडाका बासिन्दाहरूलाई कुल निष्कासनको ७० प्रतिशत अर्थात् ११ लाख १५ हजार १ सय कित्ता सेयर छुट्याएको छ ।

साथै, आयोजनाको प्रसारण लाइन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँ पालिकाको वडा नं ५, ६ र ८ र मन्थली नगरपालिकाको वडा नं ११ र १२ र १३ तथा रामेछाप नगरपालिकाको वडा नं. १ र ३ लाई समेत कुल निष्कासनको २५ प्रतिशत अर्थात् ३ लाख ९८ हजार २५० कित्ता सेयर निष्कासन गरेको छ ।

त्यस्तै, रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नं. १ र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको वडा नं। १, २ र ३ लाई ५ प्रतिशत अर्थात ७९ हजार ६५० कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ ।
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जानकारी गराएको छ । छिटोमा असार ६ गतेसम्म र ढिलोमा असार २१ गतेसम्म आईपीओका लागि आवेदन दिन सकिनेछ ।