Sat Jun 25 2022
मुख्य खबर

माध्यामिक तहको शिक्षा निशुल्क र अनिवार्य हुनुपर्छ : सांसद प्रेम सुवाल

संघीय संसद प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विभिन्न विषयहरु उठाएका छन ।

सांसदहरुले शिक्षा, स्वास्थ्य, आथिक वर्ष २०७९/८० को बजेट र अन्य समसामयिक राजनीतिबारे विभिन्न मुद्दाहरु उठाएका हुन ।

सोहि क्रममा सांसद प्रेम सुवालले माध्यामिक तहको शिक्षा निशुल्क र अनिवार्य हुनुपर्ने बताए । उनले सरकारले माध्यामिक शिक्षालाई निशुल्क र अनिवार्य गराउन नसके शिक्षा मन्त्रालयको आवश्यकता नरहने बताए ।

उनले विश्वविद्यालय शिक्षापनि निशुल्क हुनुपर्ने बताए । सांसद सुवालले तराईका जनताले आर्सेनिकयुक्त खानेपानी खानुपर्ने स्थितिमा खानेपानी मन्त्रालयको पनि औचित्य नभएको बताए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालयलाई अनुसन्धानमुलक बनाउने ठोस कार्यक्रम नआएको बताइन । उनले सरकारी तहबाटै नीजिकरण र व्यापारीकरणलाई प्रोत्साहन गर्नेगरी नीति ल्याइएको बताइन । नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई वेवास्ता गरिएको उल्लेख गर्दै उनले यसो गरेमा शिक्षा क्षेत्र तहसनहस हुने दावी गरिन ।

नेकपा (एमाले) का सांसद यज्ञराज सुनुवारले संघीय शिक्षा ऐनको अभावमा विश्वविद्यालय र विद्यालयहरु अस्तव्यस्त बनिरहेको बताए । उनले त्रिभुवन विश्वविद्यालयमा सरकारकै संरक्षणमा तालाबन्दी गरिएको आरोप लगाए ।

नेकपा (एमाले) का सांसद डा. सुर्य पाठकले मन्त्री र सरकारको संसदप्रति जवाफदेहिता नभएको बताए । उनले संसदमा बजेटमाथि छलफल भइरहेको भएपनि मन्त्रीहरु विदेश सयरमा रहेको टिप्पणी गरे । फोहोरको थुप्रो र शुद्ध पिउने पानीको आभावमा जनताको जनजिवन कष्टप्रद बनेको उनले बताए ।

नेकपा (एमाले) का सांसद भीम रावलले संसदबाट एमसीसी सम्झौतालाई १२ बुँदे व्याख्यात्मक घोषणासहित पास गरेर सो घोषणालाई सम्झौताको अंग बनाइएको भनिएपनि अंग बनेको पत्र नआएको बताए । उनले सो पत्रको बारेमा प्रतिनिधि सभालाई जानकारी गराउनुपर्ने बताए ।

सांसद रावलले सरकार संसदप्रति अनुत्तरदायी भएको बताए । संसदप्रति सरकार अनुत्तरदायी भएर अर्थतन्त्रका चुनौतीहरुलाई सामना गर्न नसकिने सांसद रावलले बताए ।