Sun Jun 26 2022
मुख्य खबर

सांसद नवराज भन्छन् – ‘निजी अस्पातालले जनताको ढाड सेकिने गरी उपचार खर्च लिँदा समेत सरकार मौन बस्यो’

संघीय संसद प्रतिनिधि सभाको आजको बैठकको शुन्य समयमा सांसद नवराज सिलवालले निजी अस्पातालहरुले जनताको ढाड सेकिने गरी उपचार खर्च लिँदासमेत सरकार मौन बसेको बताए । उनले निजी अस्पतालले १० प्रतिशत बेडमा जनतालाई निःशुल्क उपाचार गर्ने सरकारसँग सम्झौता गरेपनि कुनैले पनि कार्यान्वयन नगरेको भन्दै सरकारलाई तत्काल अनुगमन गर्न माग गरे ।

सांसद निरुदेवी पालले सरकारले छिटो भन्दा छिटो संसदमा विचाराधिन रहेको नागरिकता विधेयक पास गर्न माग गरिन । उनले नागरिकता विद्येयक संसदबाट पास नहुँदा विशेष व्यवस्थामा रहेका नागरिकले नेपाली नागरिकता पाउनबाट बञ्चित भएको बताइन ।

त्यस्तै, सांसद पद्याकुमारी अर्यालले लामो समयदेखि बन्द रहेको त्रिभूवन विश्व विद्यालय तत्काल खुल्ला गर्न सरकारसँग माग गरिन । उनले प्रधानमन्त्री उपकुलपति र शिक्षामन्त्री सहकुलपति भएको विश्व विद्यालय पाँच महिनादेखि बन्द हुँदा समेत मौन बस्नु राम्रो नभएको बताइन ।

त्यस्तै सांसद पार्वती विशुंखेले ललितपुरको शंखमुलमा २०६९ सालदेखि सञ्चालनमा रहेको जगतगरु आदर्श संस्कृत गुरुकुलले दलित भएकै कारण ४ बालकलाई पढाइबाट वञ्चित गरेकोप्रति सरकारको ध्यानाकर्षण गराइन । उनले आर्थिक रुपमा विपन्न परिवारका बनलकहरुले किन पढ्न पाउँदैनन् भन्दै सरकारलाई प्रश्न गरिन ।

त्यस्तै, सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्रको चरम लापरवाहीका कारण विद्यार्थीहरूले पाठ्यपुस्तक नपाएको आरोप लगाइन । लामाले छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री खारेज गर्न माग गरिन ।
सांसद लामाले सरकार जनक शिक्षा सामग्रीलाई पैसा दिइरहने, जनक शिक्षा जहिल्यै पाठ्यपुस्तकमा लापरवाही गरिने अवस्थाको अन्त्य हुनुपर्ने बताइन ।