संघीय संसद प्रतिनिधि सभाको आजको बैठकको शुन्य समयमा सांसद निरुदेवी पालले सरकारले छिटो भन्दा छिटो संसदमा विचाराधिन रहेको नागरिकता विधेयक पास गर्न माग गरिन । उनले नागरिकता विद्येयक संसदबाट पास नहुँदा विशेष व्यवस्थामा रहेका नागरिकले नेपाली नागरिकता पाउनबाट बञ्चित भएको बताइन ।
यता, सांसद नवराज सिलवालले निजी अस्पातालहरुले जनताको ढाड सेकिने गरी उपचार खर्च लिँदासमेत सरकार मौन बसेको बताए । उनले निजी अस्पतालले १० प्रतिशत बेडमा जनतालाई निःशुल्क उपाचार गर्ने सरकारसँग सम्झौता गरेपनि कुनैले पनि कार्यान्वयन नगरेको भन्दै सरकारलाई तत्काल अनुगमन गर्न माग गरे ।
त्यस्तै, सांसद पद्याकुमारी अर्यालले लामो समयदेखि बन्द रहेको त्रिभूवन विश्व विद्यालय तत्काल खुल्ला गर्न सरकारसँग माग गरिन । उनले प्रधानमन्त्री उपकुलपति र शिक्षामन्त्री सहकुलपति भएको विश्व विद्यालय पाँच महिनादेखि बन्द हुँदा समेत मौन बस्नु राम्रो नभएको बताइन ।
त्यस्तै सांसद पार्वती विशुंखेले ललितपुरको शंखमुलमा २०६९ सालदेखि सञ्चालनमा रहेको जगतगरु आदर्श संस्कृत गुरुकुलले दलित भएकै कारण ४ बालकलाई पढाइबाट वञ्चित गरेकोप्रति सरकारको ध्यानाकर्षण गराइन । उनले आर्थिक रुपमा विपन्न परिवारका बालकहरुले किन पढ्न पाउँदैनन् भन्दै सरकारलाई प्रश्न गरिन ।
त्यस्तै, सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्रको चरम लापरवाहीका कारण विद्यार्थीहरूले पाठ्यपुस्तक नपाएको आरोप लगाइन । लामाले छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री खारेज गर्न माग गरिन ।
सांसद लामाले सरकार जनक शिक्षा सामग्रीलाई पैसा दिइरहने, जनक शिक्षा जहिल्यै पाठ्यपुस्तकमा लापरवाही गरिने अवस्थाको अन्त्य हुनुपर्ने बताइन ।