Sun Jun 26 2022
देश

तोपे खोलाको सुख्खा पहिरो हटाइयो, नारायणगढ–मुग्लिन सडक खुल्यो

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोलामा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । बागमती ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरका अनुसार आज बिहान पौने ९ बजेतिर खसेको सुख्खा पहिरो हटाएपछि सडक खुलेको हो ।

बिहिबार पनि यहीँ गएको पहिरोका कारण सवारी साधन बीचबाटोमै रोकिएका थिए । रातभरको प्रयासमा पहिरो पन्छाएर सवारी साधनलाई पालैपालो गन्तव्यमा पठाइरहेको बेला शुक्रबार बिहान फेरि पहिरो खसेको थियो । अहिले बाटो खुले पनि फेरि पहिरो खस्ने जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।