Sat Jun 25 2022
अन्तर्राष्ट्रिय

विश्वकप लिग टु : नेपाल र अमेरिका भिड्दै

काठमाडौं ।  आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शनिबार दोस्रो खेल खेल्दैछ ।

टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले आज राति घरेलु टोली अमेरिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ ।

अमेरिकाविरुद्ध मैदान उत्रदा नेपाल सिरिजमा पहिलो जितको खोजीमा हुनेछ । नेपाल अमेरिकालाई हराउँदै २ अंक जोड्न चाहन्छ ।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो  ।

अमेरिका भने सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा अमेरिकाले ओमानलाई हराएको थियो।

अमेरिका नेपालको चिरपरिचित प्रतिद्वन्दी हो । पछिल्लो चार भेटमा नेपालले अमेरिकालाई तीन खेलमा हराएको छ।

लिग टु मा नेपाल १३ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका २१ खेलमा २० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।