Sat Jun 25 2022
मुख्य खबर

बजेटमा युवा उद्यमीलाई प्रोत्साहन गर्ने कार्यक्रम भएपनि कार्यान्वयनमा चुनौती: युवा उद्यमी

सरकारले आगामी आर्थिक वर्षको बजेट युवा उद्यमीलाई प्रोत्साहन गर्ने किसिमको आएपनि कार्यान्वयनको अवस्था न्यून रहेको गुनासो गरेका छन् ।

हरेक वर्ष सरकारले युवा उद्यमी, स्टार्टअप व्यवसायको लागि विभिन्न कार्यक्रम घोषणा भएपनि कार्यक्रममा नै सिमित रहेको उनीहरुको गुनासो छ ।

उनीहरुले सरकारको नीति तथा कार्यक्रममा आउने तर कार्यान्वयनमा समस्या रहेको भन्दै यो वर्ष पनि त्यही समस्या दोहोरिनसक्ने आशंका व्यक्त गरे ।

नेपाल युवा उद्यम संघ ललितपुरका अध्यक्ष राजकरण श्रेष्ठले सरकारले आगामी आर्थिक वर्षको बजेट युवा उद्यममैत्री रहेको बताए ।

अध्यक्ष श्रेष्ठले स्नातक पास भएका युवालाई प्रमाणपत्र धितो राखेर ऋण दिने,नयाँ उद्यमीलाई सिटिभिटिबाट उद्यमशील तालिम दिने कार्यक्रम ल्याएको बताए । उनले कार्यक्रम ल्याएपनि कार्यान्वयनमा समस्या रहेको बताए ।

त्यस्तै,युवा उद्यमी आभूषणज्योती कंशाकारले सरकारले आगामी वर्षको बजेट एउटा क्षेत्रलाई मात्रै नभइ मिसमास बनाएर ल्याएको बताए । उनले युवा उद्यमी र उद्यमको लागि राम्रो बजेट आएपनि कार्यविधि बनाएर कार्यान्वयन गर्नसके मात्रै राम्रो हुने बताए ।

कंंशाकारले सरकारले बजेट ल्याएपछि खर्च गर्न सक्नुपर्ने भन्दै बजेट युवा उद्यमीहरुलाई देखाउनको लागि राम्रो भए पनि वास्तविकतामा केही नभएको गुनासो गरे । उद्योगलाई एक÷दुई महिनाको अध्ययन गरेर युवा उद्यमीहरुको आवाजलाई सम्बोधन गर्ने गरी बजेट नआएको बताए ।

त्यस्तै अर्का युवा उद्यमी मनिष थापाले सरकारले २०७१÷०७२ सालदेखि युवामैत्री बजेट ल्याउने गरेपनि कार्यविधि बनाएर कार्यान्वयन भने हुन नसकेको बताए ।

उनले बजेटमा ९ वर्षदेखि बजेटमा व्यवस्था गरेपनि युवा उद्यमीको लागि लक्षित स्टार्टअप व्यवसायको कार्यविधि बन्न नसकेको बताए । सरकारले स्टार्टअप भनेपनि कार्यविधि बन्न नसक्दा कस्तो व्यवसायलाई स्टार्टअप भन्ने यकिन नभएको बताए ।

उद्यमी थापाले सरकारले २५ लाखसम्म बिनाधितो कर्जा दिने कार्यक्रम ल्याएको भएपनि राष्ट्र बैंक र बैंकहरुले कार्यान्वयन गर्न कार्यविधि बन्न नसकेको बताए ।

त्यस्तै युवा तथा महिला उद्यमी निकिता राजभण्डारीले आगामी वर्षको बजेटमा नयाँ स्टार्टअप व्यवसायको लागि प्रोत्साहन गर्ने कार्यक्रमहरु ल्याउनु युवा उद्यमीको लागि प्रोत्साहन मिलेको बताए ।

उनले सरकारले स्टार्टअप व्यवसायमा विदेशी लगानी धेरै ल्याउन पाउने व्यवस्था बनाएर लगानी ल्याउन पाउने सीमा कम गर्न माग गरे ।

उद्यमी भण्डारीले उद्यमी बन्न चाहने महिला तथा युवाको क्षमता विकास, सीपमुलक तालिमको व्यवस्था सरकारले गर्नुपर्ने बताइन् । उनले अब शिक्षण सिकाई प्रक्रियाबाट नै परिर्वतन ल्याएर विद्यालयको पाठ्यक्रममा नै उद्यमशीलता अध्यापन गराउनु पर्नेमा जोड दिइन् ।