Sun Jun 26 2022
मुख्य खबर

बजारमा अखाद्य वस्तु, सरोकारवाला निकाय मौन

अविशेक सुनार-  केही महिनायता नेपालमा खाद्य पदार्थ, पीय पद्धार्थ फलफल तथा तरकारी लगायत सबैको बजार मूल्य बढीरहेको छ । सोही मौका छोपेर व्यापारीहरुले अखाद्य वस्तुको बिक्रि वितरण गर्दा उपभोक्ताहरु मारमा परेका छन् ।

पानीपुरी र चटपटे नखाने किशार किशोरी तथा युवायुवतीहरु सायदै होलान् । यी उमेर समूहलाई लक्षित गरेर अधिकांश कलेज बाहिर, सडक पेटीमा चटपट, पानीपुरी बेच्न राखिएको हुन्छ तर तिनै पानीपुरी र चटपटेको प्रयोग गर्दा मानव स्वास्थ्यमा पर्ने असरको बारेमा ध्यान गएको देखिदैन ।

रंगसहितको अखाद्य वस्तुमात्र नभएर गुणस्तहीन तेल प्रयोग गरेर बनाइएका वस्तु सडक पेटीमा बेच्ने गरेको भेटिएको छ । त्यतिमात्र होइन, हाल गर्मी समय छ, यस्तो अवस्थामा धेरैले बजारमा पीय पदार्थहरु खाने गर्छन तर पीय पदार्थ फलफल लगायताका बस्तुहरुको सरोकारवाला निकायले अनुगमन नगर्दा आम उपभोक्तहरु मारमा परेको उपभोक्ताहरुले बताएका छन् ।

बजारमा पाईने चामल, दाल, घिउ, तेल, मसला लगायतका खाद्यान्न वस्तुहरुको पनि गुणस्तर र मापदण्ड समेत चेकजाँच नगर्दा उपभोक्ताको दिर्घकालिन स्वास्थ्य समस्या देखिएको उपभोक्ताले गुनासो गरेका छन् । एउटै सामानको पसल पिछ्छे फरक फरक मूल्य पर्न गएकोले निश्चित मूल्य निर्धारण गरी एकरुपता हुनुपर्ने उनीहरुको माग छ ।

उत्पादित खाद्यवस्तु मात्र होइन, बजारमा तरकारी तथा फलफूल पनि सुरक्षित छैनन् । सागदेखि लिएर प्रायः सबै तरकारीमा विषादी छर्कने गरिन्छ । कुनै विषादी यति कडा हुन्छन् कि प्रयोग गरेको १५ दिनसम्म पनि उक्त वस्तु खान हुँदैन । तर विषादी हालेको भोलिपल्टै बजारमा लगिन्छ ।

हरिया सागपात तथा फलफूलमा प्रयोग गरिने रसायनयुक्त खानाले आम मानिसमा रोग फैलने त्रास फैलिएको बताएका छन् । सरकारले खाद्यान्न वस्तुको अनुगमनमा सक्रियता नदेखाउँदा आम मानिसहरु म्याद नाघेको अखाद्य वस्तुहरु प्रयोग गर्न बाध्य भएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

सरकारको अनुगमन नियमन प्रभावकारी नहुनु र उपभोक्ताको अनुहार हेरेर वस्तुको मूल्य निर्धारण गर्नुले पनि उपभोक्ताहरु मारमा परिरहेको अधिकारकर्मीहरुले बताएका छन् । त्यस्तै पछिल्लो समय खाद्यान्न वस्तुमा भईरहेको मूल्यवृद्धि प्रति सरकारको ध्यानाकर्षण हुनुपर्ने अधिकारकर्मीहरुले बताएका छन् ।

सरकारले गुणस्तरहिन समान उत्पादन गरेर बिक्रि वितरण गर्ने व्यापारीलाई कडा कानुन त बनायो तर त्यसलाई व्यवहारमा कार्यन्वयन नगर्दा बजारमा छ्याप छ्याप्ती अखाद्य वस्तुको बिक्रि वितरणहरु भइरहेको छ ।

त्यतिमात्र होइन सरोकारवाला निकायले पनि चाडपर्व लक्षित बजार अनुगमनमा नै अल्झिँदा अन्य समयमा आम उपभोक्तमा मारमा पर्ने गरेका छन् जसको कारण आम मानिसहरु गम्भिर र दीघकालिन रोगले पिरोलिने गरेका छन् ।

त्यसैले सरकार तथा सरोकारवाला निकायले बजार अनुगमनका लागि समयमा नै ध्यान दिन आवश्यक छ ।