Wed Jun 29 2022
मुख्य खबर

प्लास्टिकजन्य फोहोरका कारण चुनौती थपियो, उपयुक्त विकल्प खोज्न विज्ञको सुझाव

मेनुका लम्साल-  हालका समयमा पलास्टिकजन्य सामाग्रीको प्रयोग बढ्दो छ । पलास्टिकजन्य सामाग्री कुहिन निकै लामो समय लाग्ने भएका कारण यसको प्रयोग निरुत्साहित गरिनुपर्ने वातावरणविदहरुको भनाइ छ ।

यसको प्रयोग घटाउन विभिन्न समयमा विभिन्न नियमहरुपनि लागू गरिएको थियो । तर अहिले आम मानिसले प्रयोग गर्ने अधिकांस सामाग्रीमा पलास्टिकको प्रयोग अध्यधिक हुने गरेको छ ।

सरकारले यसको समाधान गर्न विभिन्न कार्ययोजना ल्याए पनि कार्यान्वयन गर्न नसकेको भन्दै यसको सट्टामा नयाँ उपाय खोज्नु पर्नेमा वातावरणविदहरुको जोड छ ।

वातावरणमा नकारात्मक प्रभाव पार्ने भएकै कारण सरकारले ४० माइक्रोनभन्दा कमका पलास्टिक झोलामा प्रतिवन्ध लगाएको छ ।

प्लास्टिकजन्य पदार्थको बढ्दो प्रयोगले मानव जिवन लगायत प्रकृतिकै लागि घातक भएको भन्दै २०७८ साउन २८ मा सर्वोच्च अदालतले २१ दिनभित्र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्ण प्रतिबन्ध लगाउन आदेश दिएको थियो ।

त्यसको कार्यान्वयनका लागि वातावरण विभागले निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।

विभागको निरन्तरको अनुगमन र सरकारको निर्देशनले ४० माइक्रोन भन्दा कमका पलास्टिक झोलाको उत्पादन बन्द भएको भएपनि अहिले पनि अधिकांस मानिसले पलास्टिकजन्य सामाग्रीको प्रयोग गर्ने गरेका छन ।

यस्ता पलास्टिकजन्य सामाग्री प्रयोगपछि फोहोरका रुपमा यत्रतत्र फालिदा यसले वातावरणमा प्रभाव पार्ने गरेको छ । कुहिन समेत लामो समय लाग्ने यस्ता सामाग्रीको प्रयोग कम गर्न आवश्यक छ ।