जोडिनुहोस
  • होमपेज
  • चीनसँग जोडियो तमोर कोरिडोर

समाचार

चीनसँग जोडियो तमोर कोरिडोर

  • Sagarmatha TV
  • बिहिबार, फाल्गुन १०, २०८०
चीनसँग जोडियो तमोर कोरिडोर

ताप्लेजुङ । निर्माणाधीन तमोर कोरिडोर सडकले छिमेकी देश चीनलाई जोडेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोला खण्डमा बाँकी रहेको ट्र्याक निर्माणको काम सम्पन्न भएसँगै तमोर कोरिडोरले चीनलाई जोडेको हो । तमोर कोरिडोर नेपालसँग छिमेकी देश चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दुरी भएको सडकका रूपमा लिने गरिएको छ ।

तमोर कोरिडोर अन्तर्गत लेलेप–ओलाङ्चुङगोला सडक खण्डको जङ्गिन नजिकको क्षेत्रमा बाँकी रहेको ट्र्याक निर्माणको काम मङ्गलबार साँझ सम्पन्न भएको हो । कोरिडोरको सदरमुकाम फुङ्लिङ–ओलाङ्चुङगोला खण्डमा २०७४ फागुनदेखि ट्र्याक निर्माणको काम सुरु भएको थियो । कोरोना महामारी र सामान्य रूपमा अन्य अवरोधका कारण ट्र्याक निर्माण सुरु भएको छ वर्षपछि मात्र काम सम्पन्न भएको हो ।

निर्माण कम्पनी एलाइट जेभी कम्पनीका आयोजना सम्पर्क अधिकृत राजीव लामिछानेका अनुसार बाँकी रहेको ट्र्याक निर्माणको काम सम्पन्न भएसँगै चीनको स्वशासित क्षेत्र तिब्बत–नेपाल सिमाना टिपतालालाई सडकले जोडेको छ ।

उनका अनुसार लेलेप र तापेथोकको सिमाना रानीपुलदेखि ओलाङ्चुङगोलातर्फ ३७ किलोमिटर दुरी बराबर ट्र्याक निर्माणको काम गर्ने जिम्मा एलाइट जेभी कम्पनीले पाएको थियो । उत्तर दक्षिण (सुभाङ खोला–मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजना कार्र्यालयमार्फत ट्र्याक निर्माणको काम भइरहेको छ । लेलेप–ओलाङ्चुङगोला खण्डमा ट्र्याक निर्माणको काम सम्पन्न भएपछि पाँचथरको सुभाङ खोलादेखि टिपतालासम्म १२१ किलोमिटर सडकको ट्र्याक जोडिएको योजना कार्यालयले जनाएको छ ।

यता ट्र्याक निर्माण भइसकेपछि तिब्बतसँगको सिमाना टिपतालासम्म तमोर कोरिडोरमा तत्काल यातायात सञ्चालन हुने अवस्था भने नभएको बताइएको छ । ट्र्याक जोडिए पनि पहिले निर्माण भएको टिपतालासम्मको करिब ४२ किलोमिटर दुरीभित्र सडक सरसफाइ, मर्मत तथा पुनर्निर्माणको काम गर्नुपर्ने भएकाले यातायात सञ्चालन हुने अवस्था नरहेको हो ।

टिपतालादेखि ओलाङ्चुङगोला हुँदै जङ्गिन नजिकसम्म गोलाका स्थानीयले रकम सङ्कलन गरी ट्र्याक निर्माण गरेका थिए । नयाँ र पुरानो ट्र्याक जोडिएको ठाउँदेखि जङ्गिन हुँदै ओलाङ्चुङगोला बस्ती, मौवाटार–टिपतालासम्म सडक मर्मत तथा पुनर्निर्माण गर्न करिब दुई महिना लाग्ने निर्माण कम्पनीले जनाएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका