Sun Jun 26 2022
Breaking News

गठबन्धनको सरकार भएकोले चाहे अनुसार काम गर्न सक्ने अवस्था छैन : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार काँग्रेसको एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताउनु भएको छ ।

प्रधानमन्त्री देउवाले काँग्रेसको एकलौटी सरकार नभएकाले नेपाल ट्रेड युनियन काँग्रेसले धेरै माग दावी गर्न नमिल्ने पनि बताउनुभयो ।

आईतबारबाट काठमाडौंमा सुरु भएको ट्रेड युनियनको राष्ट्रिय सम्मेलनमा उहाँले श्रमिकहरुको हक, अधिकारको सुरक्षा र उनीहरुको लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ संकल्पित रहेको समेत बताउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपालको संविधान र कानुनले श्रमिकहरुको हक अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्दै त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गराउन पनि सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

पछिल्लो समय रुस–युक्रेन युद्धका कारण श्रम बजार प्रभावित भईरहेको उल्लेख गर्दै उहाँले यस्तो अवस्थामा श्रमिकहरुको समस्या समाधानका लागि सम्बन्धित सबै पक्षले ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले विपन्न र अनौंपचारिक क्षेत्रमा कार्यरत मजदुरहरुको हितका लागि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको स्मरण गराउनुभयो ।

उहाँले श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । यस्तै सरकारले सामाजिक सुरक्षा कोषबाट सबैभन्दा बढि श्रमिकहरुलाई नै लाभान्वित हुने विश्वास लिएका प्रधानमन्त्री देउवाले बताउनुभयो ।