अविशेक सुनार- स्थानीय तहको निर्वाचन अघिदेखि थुप्रिएको काठमाडौँ उपत्यकाको फोहोर अहिले उठाउन थालिएको छ ।
काठमाडौ महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन्द्र साहले निर्वाचित भएको हप्तादिन नबित्दै बन्चरेडाँडाका स्थानीयसँग फोहोर व्यवस्थापनका लागि दुई पक्षीय सम्झौता गरेका थिए । तर त्यो सम्झौता २४ घण्टा पनि टिक्न सकेन ।
अघिल्लो दिन फोहोर फाल्न दिने सहमति गरेका स्थानियले त्यसको भोलिपल्ट फोहोरको गाडी जान नदिएपछि फोहोर बोकेको गाडी फर्किएको थियो ।
त्यसपश्चात काठमाडौँ महानगरपालिका र बन्चरेडाँडाका जनप्रतिनिधिबीच बिहीबार राति १ बजेसम्म भएको वार्तामा उपत्यकाको फोहोर व्यवस्थापनमा सहमति जुटेको थियो ।
त्यससँगै अहिले काठमाडौको फोहोर उठाउन थालिएको छ । तर फोहोर व्यवस्थापनको दिर्घकालीन समाधान कहिले सम्ममा हुने भन्ने चिन्ता सर्वसाधारणमा देखिएको छ । फोहोर उठ्ने क्रम जारी रहेपनि फोहोर व्यवस्थापनमा भएको ढिलाईप्रति स्थनीयले गुनासो गरेका छन् ।
फोहोर व्यवस्थापनमा महानगर जुटेको भन्दै अब यसको दिर्घकालिन रुपमै व्यवस्थापन गर्नुपर्ने स्थानीयको माग छ । फोहोर व्यवस्थापनका लागि समिति नै बनाएर लाग्ने हो भने दिर्घकालिन रुपमा व्यवस्थापन गर्न सकिने उनीहरुको भनाई छ ।
यता काठमाडौ महानगरले पनि उपत्यकाको फोहोर स्थायी रुपमै व्यवस्थापन गरिनेमा कुनै शंका गर्नु नपर्ने बताएको छ । महानगरबाट उठ्ने फोहोरलाई कुहीने र नकुहीने गरी छुट्टै छुट्टै रुपमा संकलन गरी कुहीने फोहोरलाई मलमा परिणत गर्ने योजना अगाडी बढाईएको महानगरले जनाएको छ ।
यस्तै फोहोर व्यवस्थापन गरिने स्थानलाई एक महिनाभित्रमा दुर्गन्ध रहित बनाईने गरी फोहोर व्यवस्थापन गरिने पनि महानगरले बताएको छ ।
ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र काठमाडौँ महानगरपालिकाबीच भएको १८ बुँदे सहमति अनुसार फोहोर ढुवानी रातिको समयमा मात्र हुने भएको छ ।
आन्दोलनरत क्षेत्रका जनप्रतिनिधि र महानगरसँगै सहरी विकास मन्त्रालयबीच सहमति जुटेको हो ।