Sun Jun 26 2022
मुख्य खबर

ठेकेदारको लापारवाहीले विगत ५ बर्षदेखि स्याङजाको आँधीखोलामा पुल अलपत्र

श्रीकृष्ण सिग्देल, स्याङजा-  समयमै पुल निर्माण नहुँदा स्याङजाका स्थानीयलाई विपद्को सामना गुर्नुपर्ने बाध्यता छ । जिल्लाको वालिङ र भीरकोट जोड्ने आँधीखोलामा निर्माण गर्न शुरु गरिएको मोटरेवल पुलको बाधले वालिङ ११ डौवावासी यसवर्ष पनि त्रसिद छन् ।

रायमाझी क्याराभान कन्ट्रक्सनले २ बर्षमा सम्पन्न गर्ने गरी ठेक्का लिएको छाङ्छाङदी छतिवन पुल समयमै निर्माण नहुँदा आँधीखोला कटानको समस्या शुरु भएको छ ।

पुल निर्माण गर्दा लगाएको बाँध समयमै नखोलिदा आँधीखोलामा आएको बाढीले यसवर्ष पनि वालिङ ११ डौवा फाँटको सिङ्गो बस्ती र खेतीयोग्य जमिनमा क्षती पुग्ने स्थानीयले अनुमान गरेका छन ।

आँधीखोला कटानको समस्या समाधानका लागि स्थानीयले ठेकेदार कम्पनी, सडक विभाग र सम्वन्धित निकायसँग पटक पटक हार–गुहार गर्दा पनि सुनुवाई नभएको स्थानीयले गुनासो गरेका छन् ।

वर्षायाममा आँधीखोलाले स्वरुप परिवर्तन गरेमा आफुहरुको खेतीयोग्य जमिनमा करोडौ मुल्यको क्षति गर्ने तथा मानवीय क्षती समेत हुन सक्ने उनीहरुले बताएका छन ।

२०७५ साल कार्तिकमा पुर्वमन्त्रीद्वय रघुबिर महासेठ र पद्मा अर्यालले पर्यटन प्रवद्र्धनका लागि भन्दै संयुक्त रुपमा मोटेरेवल पुलको शिलन्यास गरेका थिए ।

स्वरेक मैदानबाट उड्ने प्यारागलाईडरका पारखीहरु र पर्यटकहरुलाई सहज रुपमा पुग्न तथा छोटो बाटोका लागि वालिङ र भीरकोट नगरपालिका जोड्ने गरी पुल बनाउन लागिएको हो ।

यससँगै तोकिएको समयमा पुल निर्माण गर्न नसक्ने ठेकेदार कम्पनीलाई कारवाही गरेर यहाँको बस्ती र खेतीयोग्य जमिन जोगाउन पनि सरकारले ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ् ।

यस्तै पुल निर्माणले पुर्णता नलिएसँगै अहिलेको बर्षाद््मा आँधीखोलामा आउने बाढीले ठुलो क्षती हुन सक्नेतर्फ वालिङ नगरपालिकाको ध्यानाकर्षण भएको वालिङ ११ नम्बर वडाका वडाध्यक्ष डण्डपानी पंगेनीले बताए ।

यस सम्वन्धमा नगरपालिकाभित्र रहेको विपद् व्यवस्थापन समितिमार्फत तत्काल समाधानका लागि पहल गर्ने तयारी रहेको पनि वडाध्यक्ष पंगेनीले बताए ।

झण्डै १२ करोडको लागतमा निर्माणाधीन मोटरेवल पुल ठेकेदारको लापारवाहीले विगत ५ बर्षदेखि अलपत्र रुपमा छाडिएको छ । पुलको ४० प्रतिशत काम सम्पन्न भए पनि अझै ६० प्रतिशत काम हुन बाँकी रहेको बताइएको छ ।