Tue Jun 28 2022
मुख्य खबर

नेप्सेमा १५ अंकको गिरावट

साताको पहिलो कारोबार हुने दिन आज नेप्से परिसूचकमा गिरावट आएको छ ।

पछिल्लो समय लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक आज १५ दशमलव ८२ अंकले घटेर २ हजार ३२ दशमलव ३४ बिन्दुमा झरेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स २ दशमलव ३० अंकले घटेको छ भने फ्लोट इण्डेक्स १ दशमलव १५ र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ८६ अंकले घटेको छ ।

आज कारोबारमा आएका २३० कम्पनीको २९ लाख २० हजार कित्ता शेयर ९९ करोड ८६ लाख ७४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

नेप्सेसँग पछिल्लो समय कारोबार रकममा समेत गिरावट आउन थालेको छ । त्यस्तै आज नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेका छन् ।

जसमध्ये वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन् ।

आज नेप्से ओरालो लागे पनि दुई कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।