Mon Jul 4 2022
मुख्य खबर

समयमै मल नपाउँदा चैते धानको उत्पादन घट्यो

 नारायण खड्का, तनुहँ-  चैतमा रोपेको धानको बिऊ असार महिना नजिकिदै गर्दा तनहुँका फाँटहरुमा लपक्कै हुने गरी झुलेका छन । खेतभरी पाकेका धानका बालाले खेतका फाँटहरु पहेलपुर भएका छन ।

अझ पाकेको धानको बालाले खेतका आलीहरु सुनौली र मनमोहक भएका छन । यससँगै चैते धान थन्काए लगत्तै खेतमा असारे धानको विऊ रोप्नुपर्ने किसानहरुलाई अहिले चटारो छ । तर पाकेको धान काट्न र असारे धानको रोपाईमा जुटेका किसानहरु भने खासै उत्साही देखिएका छैनन् ।

चैतको चर्को घाममा सकि नसकि रोपेको धानमा राम्रो फल नलाग्दा उनीहरु निराश छन् । धान खेतीका लागि समयमै रासायिनक मल नपाउँदा यसवर्ष उत्पादन घटेको किसानहरुको गुनासो छ ।

राजनीतिक दलका नेताहरुले कृषि क्षेत्रलाई व्यवसायिक र लागत घटाई राम्रो प्रतिफल लिने गरी काम गर्छौ भन्दै चर्का–चर्का भाषण गर ेपनि व्यवहारमा देख्न नपाएको किसानहरुको भनाई छ ।

नेताहरुले त्यस्ता झुटो भाषण भन्दा पनि समयमै मल, विऊ विजन तथा खेतीपातीका लागि आवश्यक औषधी उपचार उपलब्ध गराइ दिन उनीहरुले आग्रह गरेका छन ।

कतिपय किसानहरुले भने अवैध रुपमा मल खरिद गरी धान खेतीमा लगाएको बताएका छन् । तर त्यस्तो मल कम गुणस्तरको भएकाले उत्पादन राम्रो नभएको उनीहरुको गुनासो छ ।

सरकारले प्रतिकिलो २० रुपैयाँमा मल पाउने बताए पनि आफुहरुले नपाएको र बजारबाट प्रतिकिलो ५० देखि ६० रुपैयाँमा मल किन्नै पर्ने बाध्यता रहेको किसानहरुले बताएका छन ।

तनहुँमा करिब ५१ हजार ५५० हेक्टर क्षेत्रफलमा खेती गरिने भए पनि ६ हजार ३४७ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिंचाई सुविधा उपलब्ध छ । १३ हजार ५८० हेक्टर सिंचित क्षेत्र र ७ हजार २३३ हेक्टर क्षेत्रफलमा बेमौषमी सिंचाई सुविधा रहेको हुँदा आकाशे पानीको भरमा पनि किसानहरुले धान खेती गर्ने गरेका छन् ।

विगत ८/१० वर्ष अगाडिसम्म तनहुँमा करिब ७ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिए पनि अहिले मुस्किलले २ हजार पाँच सय हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले बताए ।

जनशक्ति अभाव, लागत अनुसारको कम उत्पादन हुनु, वर्षादको समयमा पाकेको बाली थन्काउनु पर्ने तथा चैते धान उत्पादन गरी उपभोग गर्नुभन्दा बजारबाटै खरिद गरी चामाल खान सहज हुँदै जानुले चैते धान खेती घट्दै गएको ज्ञान केन्द्र प्रमुख तिवारीको भनाइ छ ।

असारे धान रोपाईको तयारीमा जुटेका तनहुँका किसानहरुले अझैसम्म पनि मल पाएका छैनन् ।

कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखाका अनुसार तनहुँँमा वार्षिक एक हजार पाँच सय टन युरिया मल माग हुने गरेकोमा चालु आर्थिक वर्षमा पाँच सय टन मात्रै मल भित्रिएको छ ।

गाईवस्तु पाल्न छाडेकाले गोवार मल पनि नभएको र समयमै रासायिनक मल समेत नपाउँदा खेतीपाती फस्टाउन नसकेको स्थानीयको गुनासो छ ।