Tue Jun 28 2022
मुख्य खबर

ट्रेड युनियन काँग्रेसको प्रतिनिधित्व गर्दै विभिन्न पदमा पुग्ने व्यक्ति सम्मानित

काठमाडौँ, २९ जेठ । नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा ट्रेड युनियन काँग्रेसको प्रतिनिधित्व गर्दै विभिन्न पदमा पुग्ने व्यक्तिलाई सम्मान गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको सम्मेलनमा नेपाल ट्रेड युनियन काँग्रेसको प्रतिनिधित्व गर्दै विभिन्न पदमा पुग्ने व्यक्तिलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा काँग्रेस केन्द्रीय सदस्य रमा पौडेल, हरिशरण नेपाली, अजय बाबु शिवाकोटी र सुशीला मिश्र भट्ट, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, नेपाल शिक्षक सङ्घका पूर्वअध्यक्ष केशव निरौलालगायत हुनुहुन्छ ।

दुई दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनमा राष्ट्रिय श्रम आयोगको गठन, मर्यादित रोजगारीको सिर्जना, वैदेशिक रोजगारीलाई मर्यादित एवं सुरक्षित बनाउने, श्रम प्रशासनको क्षमता विकास तथा विस्तार, नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व, जलवायु परिवर्तनका कारण श्रमिकलाई पर्ने असर न्यूनीकरण, सातै प्रदेशमा श्रम अदालतको व्यवस्था, कार्यस्थलमा हुने लैङ्गिक हिंसा तथा दुर्व्यवहारको अन्त्यलगायतबारे छलफल हुनेछ।

यस्तै, योगदानमा आधारित सामाजिक सुरक्षा योजना अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकका लागि लागू गर्ने, स्वदेश तथा विदेशमा रहेका श्रमिकलाई कार्यस्थलबाटै मताधिकारको व्यवस्था, राज्यका तीनवटै तहको सरकारमा सामाजिक संवादको संरचना र स्थानीय तहमा श्रम तथा रोजगार केन्द्र, श्रम सल्लाहकार परिषद् र श्रमिकको पञ्जीकरण गरी परिचयपत्र जारी गर्ने विषयमा समेत छलफल हुने नेपाल ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्रकुमार कुँवरले जानकारी दिनुभयो ।